शम्भु राईलाई प्रकाश सपुतको चिठी: ‘दर्शकलाई भजाएर हामी कबड्डी नखेलौं’ (भिडियोमा)

शम्भु राईलाई प्रकाश सपुतको चिठी: ‘दर्शकलाई भजाएर हामी कबड्डी नखेलौं’ (भिडियोमा)


आदरणीय शम्भु राई सर नमस्कार ।

आराम छु, आराम चाहान्छु ।

आज मिति २०७६ असार ३ गते रातको ठिक १२ बजेर ५३ मिनेट जाँदै गर्दा बुटवल फर्र्सािटकटमा रहेको रिद्दिसिद्दि पार्टी प्यालेसको पहिलो तलाको बिचको कोठाको बेडरुममा पल्टिएर मोबाईलको नोटबुकमा यो चिठि लेख्दै छु । तपाईलाई विश्वास नलाग्ला गीत पनि सुन्दै छु – ‘चिठि तिमीलाई लेखु भन्छु ’! बिना कुनै स्वार्थ, बिना कुनै उक्साहट, बिना कसैको सुझाव सल्लाह, बिना कुनै योजना यत्तिकै मनबाट जे आउछ त्यही लेख्दैछु ।

करिब ३६ डिग्री गर्मीलाई उछिन्ने जोशमा फुल स्पिडमा उसा ब्राण्डको फ्यान घुमिरहेको छ । अलिअलि शितल गराएको पनि छ तर फ्यान भन्दा स्पिडमा घुमिरहेको मेरो मनका कुराहरु यहाँ पोखेर शितल हुन चाहन्छु । यद्यपि हुन्छु कि नाई । थाहा छैन । भर्खरै एउटा सांगितिक प्रस्तुती दिएर फर्केको । यही नजिकै महोत्सब लागेको छ । राम्रो पारिश्रमिक तोकेर आएको थिए । करिब आधा जति दर्शक टिकट नपाएर गुनासो गर्दै फर्किएछन् । आयोजकले भोलि पुनः प्रस्तुती दिन आग्रह गर्नु भएको छ । कारण गल्बन्दी क्रेज ।

मैले सोचेकै थिएन सर । लोक गीत गाएर यतिबिधि चर्चित भईन्छ भनेर । बुढापाकाले मात्रै त्यो पनि पश्चिम पश्चिम भेग तिर सुनिने लोकदोहोरी गाएर कहिल्यै सेलिब्रिटी बनिन्छ जस्तो लागेको थिएन । त्यसैले गति नै त छाडिएन तर अनेक तिक्डम चै लगाएकै हो । एकबारको जुनीमा गाउने ईलम गरिसकेपछि २÷४ जनाले चिनेनन भने के गाउँनु गाँठे भन्ने आत्मबोध भैरहन्थ्यो । त्यसैले गीत नै गाएर पेट र परिवार पालेको भएपनि म कहिल्यै खुसी भइन । सपनाहरु ज्यूँ को त्यूँ छ । भोक ज्यूँ को त्यूँ छ भनेर निकै निरासामा गुज्रिरहेको थिए ।

कसो कसो दोहोरी व्याटलले अलिअलि भोंक मेटायो । त्यही चिनिने भोक क्या सर । पछि ‘बोल माया’ गर्दा मैले चिनिने भन्दा सम्झिनेतिर अलि बढी ढल्केर काम गरे र आफुलाई अलिधेरै अंक बटुले दर्शकस्रोताबाट । ‘ब्याटल टु’ ले मेरो परिचयमा थोरै प्रश्न उठायो । त को होस ? कताको मुन्छे होस ? भनेर अलिअलि नंम्बर घट्यो पनि तर ‘क्रियटिभिटि’ मा नम्बर त जोडिएकै हो ।

कहिलेकाँही उत्तर गलत हुँदा पनि अक्षर राम्रो भएर नम्बर पाईन्थ्यो नि सर स्कुलमा । त्यो पनि गणितमा, बिज्ञानमा होईन नेपाली बिषयमा ।

हो, संगित पनि नेपाली बिषय जस्तै लाग्छ सर । गणितको, बिज्ञानको जस्तो ठ्याक्कै उत्तर नमिले पनि मिठो भाषा लेख्न जान्यो भने, राम्रो अक्षर कोर्न जान्यो भने लगभग पास अंक त पाईने । १०० मा ३२ ।

गल्बन्दीसम्म आउँदा मेरो अंक सयमा सय आएको थियो सर । कपि जाच्ने शिक्षक जस्तै गीत जाँच्ने दर्शक स्रोतालाई उत्तर, अक्षर र भाषा सबै ठिकै लागेको थियो । त्यसैले रिजल्ट पनि लगभग स्कुल टप नै भयो ।

सामान्य अंकमा पास हुनेको के भ्यालु हुन्छ र ? तर, स्कुल नै टपि सकेपछि सबैको चासो हुनु स्वभाविक हो । त्यसैले गल्बन्दीलाई तपाईले पनि जाँच्नु भयो सर । तपाईलाई लाग्यो अक्षर र भाषा राम्रो छ तर उत्तर कतैबाट प्रभावित छ । लाखे हौ, मेरैबाट प्रभावित छ कि के हो ?

सर्वप्रथम त तपाईले गल्बन्दी सुनिसकेपछि तपाईको मनमा भाका मिलेजस्तो लागेर भएको छटपटि र हल्ला भैसकेपछि आएका नरात्मक टिका टिप्पणीहरुबाट तपाईको आत्मसम्मानमा पुग्न गएको ठेसप्रति म दुख व्यक्त गर्दछु । एउटा अनुजको कामले अग्रजको मनमा उब्जिएको बेचैनी र तपाईको व्यक्तित्व र नियतमाथि आएका प्रश्नहरुप्रति म लज्जाबोध गर्दछु । यद्यपि तपाईले कुरा उप्काईसकेपछि मेरो नियत माथि, मेरो व्यक्तित्वमाथि, मेरो सिर्जनामाथि लागेका आरोपहरुले मेरो आत्मसम्मानमा, मेरो दैनिक जिवनमा, मेरो मानसिकतामै पनि कत्रो असर पुगेको छ त्यतातिर सोचेर हजुर दुःखी नहुनु होला है । म ठिकठाक छु सर ।

हामीलाई हाम्रो समयले दिएको एउटा जादुमयी अवसर छ – भाईरल । छिनमै उचालिएर माथी पुग्ने, छिनमै तल थेचारिने । त्यसैले लगभग सामान्य जस्तै लाग्न थालेको छ रातारात चर्चित हुने र रातारात गाली खादै लखेटिने प्रवृति । जुन भोक थियो नि सर चर्चित हुने । भयो, अघाईयो । भुँडी फुट्ने गरि अघाईयो ।

अँ ! साच्चि भाका मिलेको प्रंसग । गाउँमै हुँदा सुनेको भनेर तपाईलाई मख्ख पार्दिन सर । काठमाण्डौ आएर दोहोरी साझमा काम गर्न थालेपछि हजुरका धेरै गीतहरु सहकर्मीहरुको आवाजमा सुनियो । आफुलाई रहर लागेर खोजीखोजी ओरिजिनल गीत सुनेर डायरीमा गीत टिपेर पनि गाईयो । ‘चिठि तिम्लाई’ र ‘तिमिले सम्झेनी लाखै छ’ भन्ने अक्सर अफर आउँथ्यो दोहोरीमा । सहकर्मीले गाउँथे म अभिनय जस्तो गर्थे । हल्का रक्सीले मातेको बेला यस्तो गीतले अझै छुने रैछ कि मान्छेलाई कुन्नि ? पैसा पनि राम्रै झर्थ्यो ।

म चाँही ‘रहरले चलेछ बतास सुस्तरी’ गाउने प्रयास गर्थे । त्यसको पुरै अन्तरा याद छ सर मलाई । कतै माहोल जुरेछ भने म हजुरलाई सुनाम्ला गाएरै । तर, कुन कÞसम खाएर भनौ सर यो देउसी भैलो गीत मैले सुनेको थिएन । त्यसैले मैले कपि गरेको हुँदै होईन । पहिलेनै रेकर्ड भैसकेको कुनै गीत पुन रेकर्ड गर्छु र हिट बनाउँछु भन्ने आत्मविश्वास कसैमा हुन्छ जस्तो लाग्दैन सर । बरु पुरानो हिट गीतलाई रिमेक गर्ने, कभर गर्ने चलन बढेको छ । यो कति सहि गलत (त्यता नजाउ मैले यहाँ जोड्न खोजेको चाँही पहिला त्यति नसुनिएको, सफल नभएको गीतलाई रि रेकर्ड गरेर चलाईदिन्छु भन्ने कन्फिडेन्स ममा छैन सर । त्यो रिस्क तपाईले त्यति खेरै लिनु भयो ।

अब मैले किन लिन्थेर ! अहिले त झन खर्च बढेको छ सर । कलाकारको भाउ र पारिश्रमिक ह्वात्तै बढेको छ । खर्च उठाउने विजनेश वे छैन । उसबेला जस्तो क्यासेटमा साईन गरेर पठाएको अनुभव हामीले गर्न पाईएन सर । अहिलेको अवसर र चुनौती भनेको मैले मावथ जोडिसके त्यही ‘भाईरल’ हो । त्यो पनि फ्रिको ।

सर ! भाका मिलेकै छैन ? कहाँ मिलेको छ ? भनेर तपाईको बिचारलाई, तपाईको फिलिङसलाई, तपाईको प्रत्येक तर्कलाई म खण्डन गर्न चाहन्न । तपाईले आफैले भन्नु भएको थियो । म तपाईको छोराभन्दा पनि धेरै कान्छो उमेरको छु । तपाई मेरो बुबाभन्दा पनि बढी उमेरको हुनुहुन्छ । यसकारण तपाईको भोगाई, तपाईको अध्ययन अनुभव, तपाईको योगदान तपाईको सफलताको अगाडि म धेरै बच्चा छु । उमेर अनुभव र समयले पनि म केटाकेटी नै हो । एउटा स्रोता भएर सुन्दा ‘गलबन्दी’ र ‘आउ नाचौ’ १/२ ठाउँ उस्तै उस्तै सुनिन्छ जस्तो मलाई पनि लाग्छ । ओई सुन्त मिलेको छ यार भनेर यि दुई गित (अलिकति स्पीड बढाएर) फोर्सफुल्ली एकैचोटि सुनाउने हो भने जो कोहीको मनमा पनि आउछ होला – य हो त यार मिलेकै रैछ । तर, अलि गहिरिएर सुन्ने हो भने ठ्याक्कै मिलेको चाँही छैन कि सर ।

कपि हुनलाई त पुरै र्याङ कि ठ्याङ मिल्नु पर्ने हैन र । सेम टु सेम भएपछि त फ्याट्टै चिनिन्छ सर । यसरी मत नै बाझिदैन । हेर्नुस त दर्शकहरु बाडिएको । कसैलाई लाग्छ मिल्छ । कसैलाई लाग्छ मिल्दैन । त्यसैले यो दर्शकलाई भजाएर हामी कबड्डी कबड्डी जस्तो मिडिया र मिडिया नखेलौ सर ।

मैले यहाँनिर धेरै लोक भाका मिल्छन् । उस्तै उस्तै हुन्छन् । यो हाम्रो नेपालको सम्पति हो । पब्लिक डोमेन हो । यस्तो उस्तो भनेपनि तपाईलाई तर्कले जित्न खोजे जस्तो होला । यधपि अन्य संगितहरु अलिकति गणितीय शुत्रमा बाध्न सकिन्छ । लोकभाकाहरु अलिबढी स्वतन्त्र हुन्छन् । खोलाहरु जस्तै, हावापानी बनजंगल जस्तै प्राकृतिक । मेरो सिर्जनाहरु धेरै कुराहरुबाट प्रभावित छन् सर । उसै पनि जति गित चलेका छन् ति सबै शब्द र संगितले मात्रै होईन भिडियोमा अनेक तिग्डम गरेको छु सर ।

यो प्रविधिले र जमानाले बनाएको हो । म्युजिक उठेर गीत भनेर म्युजिकमै सकिदा पनि पुर्ण गीत हुन्थ्यो ‘चिठ्ठी तिम्लाई’ ताका । अहिले चिठ्ठीको चलन हराएर भिडियो च्याटको जमाना भएर हो कि सर गीतको अगाडि पछाडि यस्सो नाटक नजोडि त गीत नै पुर्ण नहुने जस्तो पो भैसक्यो ।  मैले ठ्याक्कै गीत सुनेर कपि गरेको हुँदै होईन सर । डिट्टो कपि पनि छैन गीत ।

मैले नेपाली सांगितिक इतिहासको बारेमा त्यति अध्ययन गरेको त छैन तर तपाई भन्दा अझै अग्रज, तपाई र मसम्म आउँदा नेपाली संगित र विशेषत लोकगीत सिर्जना गर्ने ति तमाा अग्रजहरुबाट प्रभावित हुदै नै हामीले गीत सिर्जना गर्ने हो । तपाईहरुले बडो दुःख गरि खनेको बाटोमा हामी सजिलो गरी हिड्न पाएका छौ । यसो खाल्डाखुल्डी पुर्ने र सके कालोपत्रे गर्ने जिम्मेवारी बोध पनि गरेका छौ । तपाईहरुकै बाटोमा हिड्दै गर्दा तपाईहरु जस्तै जस्तै देखिनु स्वभाविक हैन र सर ? अहिले समय अलि बदलिएको छ सर ।

गीतसंगितमा भीड़भाड़ छ । किनकी बाटो सजिलो भएको छ । जो कोही जहाँ कँहीबाट आउन मिल्ने भएर पनि होला । त्यसमाथि हाम्रो पुस्ताको रुचि फेरी डेन्जर छ सर । यस्तो अवस्थामा गल्बन्दी जस्तो मौलिक लोकगीत यो लेभलमा स्वीकार्य हुनु पनि एउटा उपलब्धि हो सर । आफ्नो व्यवसायीक नाफाघाटा नहेरी सांस्कृतिक महत्व बचाउन सबै बिधि पुर्याएर ३२/३५ मिनेटको तिहार गीत बनाउन तपाईलाई जरुरी थियो र सर ? ‘तिमीले सम्झेनी लाखै छ’ जस्तो अर्को खत्रा आधुनिक गीत दिएर आरबीटि बाट झ्याम्म दाम बुझ्न सक्नुहुन्थेन र ? म्युजिक नेपालसंग राम्रै छ सम्बन्ध तपाईको तर तपाईलाई कलाकारिता गर्दा केबल नाफा घाटा मात्रै भन्दा पनि नेपाली लोक संगितको !

नेपाली मौलिक कला संस्कृतिको बिछट्टै माया रै’छ सर । त्यति माया गर्ने मान्छेले एउटा अनुज भाईले अहिलेको समयमा मौलिकता झल्काउन गरेको प्रयासलाई अलिकति भाकाको प्रसंग लिएर निरुत्साहित नगरिस्यो न । हजारौ प्रकाश सपुत आए पनि तपाईको ईतिहास र अस्तित्व मेटिन्न सर । ल मानम कसैले अझै मिठो गरि चिठ्ठी तिम्लाई दुरुस्त निकाले छ भनेपनि तपाई मेटिनुहुन्न सर । तपाईको अस्तित्व आउँछ आउँछ ।

लेख्दा लेख्दै मोबाईलको व्याट्री २ पर्सेन्ट भएछ । समय बिहानको ४ः३४ ! र अन्त्यमा, तपाईले बोलाएका फोरमहरुमा म उपस्थित हुन तयार छु सर, छलफल का लागि बहसका लागि, संगितको शुद्दिकरणका लागि, कपराईटको कानुन कार्यान्वयनका लागि र अग्रजहरुको सम्मानका लागि ।

तर, यो मेरो वर्किङ आवर्स हो सर । सिर्जनशिल हुन सक्ने र सोही अनुसार दौडिन पनि सक्ने उमेर हो मेरो । यो समयमा मलाई नअल्झाईस्यो न सर । म पनि केबल नाफा घाटा मात्रै भन्दा पनि केहि फरक र राम्रो गर्न सकिन्छ कि भनेर धेरै रात अनिदो बस्छु । ‘गल्बन्दी’को लागि पनि मैले धेरै नै मेहेनत गरेको छु सर । जहाँसम्म नाम राख्ने कुरा छ । यो धेरै लोकभाकाहरुबाट प्रभावित छ सर । यता पश्चिम तिरको भजनको ताल र रत्यौलीको लय मिस्रित छ भने हजुरको देउसी बाट पनि प्रभावित भएछ ।

अब कसकसको नाम राखौ सर । नाम में क्या चिज हे ? अब यसै पनि आजको मितिसम्म सबै भन्दा छोटो समयमा करोड़ क्लबमा जाने गीत कुन हो भन्ने प्रश्नमा उत्तर आउछ – ‘गल्बन्दी’ । तर, उत्तर यति मै सकिदैन । ‘ए त्यो शम्भु राईसंग मिलेको गीत’ भनेर आउने भैसक्यो । विश्वास बिचित्रको चिज हो सर । यो निकै जÞरा गाडेर बसेको हुन्छ मानिसहरुमा । अब तपाईले मिलेकै हो भन्ने प्रमाणित गरे पनि मिलेको छैन भन्नेलाई विश्वास लाग्दैन । मैले ‘हैन मिलेकै छैन’ भनेर चिच्याए पनि गीत उस्तै उस्तै सुन्नेको कान फेर्न सक्दिन । त्यसैले एउटा सिर्जना माथि दर्शक स्रोताको चासो, चिन्ता र माया सम्झेर यो प्रसंग यँही स्वतन्त्र छोड़ौ न सर ।

म तपाईलाई असाध्यै सम्मान गर्छु । तपाई मलाई प्रोत्साहन गर्नुहुन्छ भन्ने कुरामा विश्वस्त छु । आगामी सिर्जनाको लागि सचेत बनाउनु भएकोमा धन्यबाद सर । तर, म र म जस्तै नयाँ पुस्तालाई डर पैदा नगरिदिनु होला । जो गीत संगितमा केही गरौँ भन्ने हुटहुटीले लामो संघर्षपछि अलिअलि तंग्रिएका छौ ।

धन्यबाद सर ।
टेक केयर, सि यु सर

यो सामाग्री हामीले गायक सपुतको अनलाइनबाट साभार गरेका हौ।  

Logo