वैदेशिक रोजगारी : एक दशकमा ७ हजार ३०४ को मृत्यु

वैदेशिक रोजगारी : एक दशकमा ७ हजार ३०४ को मृत्यु


काठमाडौं,

वैदेशिक रोजगारीमा गएका मध्ये पछिल्लो एक दशकमा ७ हजार ३०४ जनाको ज्यान गएको छ । नेपालबाट हरेक वर्ष चार लाख हाराहारीमा जनशक्ति वैदेशिक रोजगारीमा जाने तथ्यांक छ ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले रोजगारमा जाने नेपालीलाई अपर्याप्त आराम, न्यून पारिश्रमिक, स्वास्थ्यमा लापरबाही र पारिवारिक झमेला तथा दबाबका कारण वैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु हुने गरेको जनाएको छ । धेरै र कमसल रक्सी खाने, पानी कम पिउने, समयमा खानपानको प्रबन्ध नहुँदा स्ट्रोक, हृदयाघात जस्ता कारणले मृत्यु हुने गरेको छ । कार्यस्थलको असुरक्षा तथा अव्यवस्थित बसाइ मृत्युका अन्य कारण हुन् ।

आर्थिक वर्ष ०६६/६७ देखि यस आवको जेठसम्म वैदेशिक रोजगारीमा मृत्यु हुने मध्ये १६८ महिला छन् । बोर्डका अनुसार चालू आर्थिक वर्षको जेठसम्म वैदेशिक रोजगारीका क्रममा ६६७ जनाकोे मृत्यु भएको छ । त्यसमा २१ जना महिला थिए ।

बोर्डले मृत्यु भएका कामदारलाई १ अर्ब ९५ करोड ८२ लाख ५४ हजार रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ । चालू आवको जेठसम्म ४४ करोड २७ लाख ५० हजार, आव २०७४/७५ मा ४५ करोड ६५ लाख, आव २०७३/७४ मा २२ करोड ६३ लाख, आव २०७२/७३ मा २२ करोड ३१ लाख ५० हजार आर्थिक सहायता दिएको छ ।

यस्तै २०७१/७२ मा २१ करोड ७४ लाख ४० हजार, २०७०/७१ मा १२ करोड ६ लाख, ०६९/७० मा ९७ करोड ९३ लाख, ०६८/६९ मा ७ करोड ७३ लाख, ०६७/६८ मा ४ करोड ९५ लाख र आव २०६६/६७ मा ३८ करोड ९७ लाख रुपैयाँ आर्थिक सहायता वितरण गरिएको छ ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले एक दशक अवधिमा अंगभंग र बिरामी भएका एक हजार ४७३ जनालाई २२ करोड १० लाख रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ ।
अन्नपूर्णबाट

Logo