काठमाडौं महानगरपालिकामा मेयर-उपमेयर विवाद

काठमाडौं महानगरपालिकामा मेयर-उपमेयर विवाद


काठमाडौं,
सार्वजनिक शौचालय निर्माण, सञ्चालन र व्यवस्थापनका विषयमा काठमाडौं महानगरपालिकामा विवाद देखिएको छ ।

मेयर विद्यासुन्दर शाक्यले उपमेयर हरिप्रभा खड्गी नेतृत्वको कार्यदल भंग गरेपछि विवाद देखिएको हो । गत ६ माघमा खड्गीको नेतृत्वमा अधिकार सम्पन्न कार्यदल गठन गरिएको थियो । तर वैशाख तेस्रो साता बसेको कार्यपालिका बैठकबाट मेयर शाक्यले कार्यदल भंग गरेका छन् ।

कार्यदलले तीन महिना लगाएर शौचालय निर्माण, सञ्चालन र व्यवस्थापनका विषयमा अध्ययन गरेको थियो । प्रतिवेदन नबुझ्दै मेयर शाक्यले शौचालय निर्माण, सञ्चालन र व्यवस्थापनको नेतृत्व आफैँले गर्ने भन्दै कार्यदल भंग गरेका हुन् ।

कार्यदल निर्माण गर्दा सम्भाव्यता अध्ययन गर्ने, कार्यविधि बनाउने र त्यसको कार्यान्वयनसमेत गर्न पाउने गरी अधिकार दिइएको थियो । ‘पूर्ण अधिकार दिएर मेरो नेतृत्वमा कार्यदल गठन गरिएको थियो । तर, मेयर साबले किन हो, प्रतिवेदन नबुझ्दै कार्यदल भंग गरिदिनु भयो,’ उपमेयर खड्गीले भनिन्, ‘अहिलेसम्म हामीले धेरै काम गरिसक्ने थियौँ । तर, अहिले अड्किएको छ ।’ कार्यदलमा उपमेयर खड्गीसँगै १५ वडाका अध्यक्ष ईश्वरमान डंगोल र १८ का वडाध्यक्ष न्हुच्छेकाजी महर्जन सदस्य थिए ।
नयाँ पत्रिकाबाट

Logo