अब एउटै पार्टीको स्पष्ट बहुमत !

केन्द्रबिन्दु विशेष संवाददाता

एमाले र माओवादी केन्द्र वीच एकता भयो भने एउटै पार्टीको संसदमा बहुमत पुग्ने छ । प्रतिपक्षी नेपाली कांग्रेस निरिह सावित हुने पक्का भएको छ । ६० बर्षअघि दुई तिहाइ बहुममत भएको नेपाली कांग्रेस अहिले कसरी ओरोलोमा छ त ? तथ्यांकले के भन्छ ?

विसं २०१५ सालमा भएको पहिलो आम निर्वाचनमा कुल १०९ निर्वाचन क्षेत्र मध्ये कम्युनिष्टहरुले चार सिट प्राप्त गरेका थिए । नेपाली काँङग्रेसले दुई तिहाई अर्थात ७४ सिट प्राप्त गर्यो । ३० वर्षको पन्चायती व्यवस्थापछि २०४८ सालमा भएको संसदीय निर्वाचनमा २०५ निर्वाचन क्षेत्रमा काङग्रेसले ११० स्थानमा जित हासिल गर्यो भने एमालेले ६९ स्थान जित्यो । यसले स्पष्ट रुपमा संकेत गर्दछ कि पंचायतकालभरी नेपालमा कम्युनिष्टहरुको संख्यामा निकै वृद्धि भयो जुन त्यस लगत्तैको प्रजातान्त्रिक निर्वाचनमा प्रकट भयो । प्रतिशतको हिसाबले हेर्दा काँङ्रेग्रेसले ३७ प्रतिशत र एमालले २७ प्रतिशत मत प्राप्त गर्यो । यस निर्वाचनमा सबै कम्युनिष्ट पार्टीहरुले प्राप्त गरेको मत झण्डै ३२ प्रतिशत पुग्छ ।

२०५१ सालको निर्वाचनमा ८८ सिट प्राप्त गरेर एमाले पहिलो दल वन्यो भने ८३ सिट सहित काँङग्रेस दोस्रो स्थानमा आयो । प्रतिशतको हिसाबले काँङग्रेस ३३ प्रतिशत र एमाले ३० सिटमा सिमित भयो । २०५६ सालको निर्वाचनमा काङग्रेसले ३७ प्रतिशत सहित १११ सिटमा जित हासिल गरेको थियो भने एमालेले ७१ सिट सहित ३१ प्रतिशत मत प्राप्त गरेको थियो । यतिवेला एमाले विभाजित भएको थियो । एमालेबाट विभाजित भएको मालेले एक सिट पनि जितेन तर उसले ७ प्रतिशत मत प्राप्त गरेको थियो । यदी एमाले र मालेले पाएको मत जोड्ने हो भने काङग्रेसको हाराहारीमा पुग्दछ । अन्य कम्युनिष्ट दलहरुले प्राप्त गरेको मत जोड्ने हो भने काङग्रेसको भन्दा वढी मत पुग्छ ।

पहिलो संविधान सभाको निर्वाचनमा ठूला तथा साना कम्युनिष्टहरुले ६२ प्रतिशतभन्दा वढी मत समानुपातिकमा प्राप्त गरेका थिए । पहिलो संविधान सभाको निर्वाचनमा एमाले र माओवादीले समानुपातिकमा प्राप्त गरेको मत झण्डै ५० प्रतिशत थियो । दोस्रो संविधान सभाको निर्वाचनमा कम्युनिष्टहरुले प्राप्त गरेको मत ५२ प्रतिशत थियो । दोस्रो संविधान सभाको निर्वाचनमा समानुपातिक तर्फ काङग्रेसले २५ प्रतिशत, एमालेले २३ प्रतिशत र माओवादीले १५ प्रतिशत प्राप्त गरेको थियो ।

अहिले साठी वर्षपछि भएको निर्वाचनमा वामपन्थीहरुले झण्डै दुई तिहाई मत ल्याएका छन, काँङ्रग्रेस चाहिं खुम्चिएको छ । स्थानीय तहको निर्वाचनको कुरा गर्ने हो भने पनि वाम गठवन्धनको स्पष्ट वहुमत रहेको देखाउँंछ । स्थानीय तहको निर्वाचनमा एमालेले २९५ निर्वाचन क्षेत्र जितेको थियो भने माओवादीले १०६ स्थानमा जितेको थियो । कुल ७५३ स्थानियत तह रहेकोमा नेपाली काँग्रेसले २६५ स्थानमा जितेको थियो । एमाले र माओवादीको स्थानिय तह जोड्दा वहुमत भन्दा वढी नै देखिन्छ ।

नेपालमा २०४७ सालदेखि नै वामपन्थीहरुको मत वढद्ै गएको हो । तर वामपन्थी दलहरु एक आपसमा फुटेर सानो सानो राजनीतिक दल खडा गरेर वसेको फाइदा काँग्रेसले लिएको थियो । तर जव वामपन्थी दलहरु एक भए काँग्रेस कमजोर जस्तो देखियो । यस पटक एमाले र माओवादी मात्र होइन जनमोर्चा लगायतका साना वामपन्थी दलहरु समेत एकजुट भए ।

पहिलो हुने निर्वाचित हुने प्रणालीमा काँग्रेसले २३ सिट अर्थात १४ प्रतिशत मत प्राप्त गरेको छ । एमालेले ४८ प्रतिशत र माओवादीले २१ प्रतिशत मत प्राप्त गरेको छ । तर समानुपातिकमा भने काँग्रेसले एमाले सरह मत प्राप्त गरेको छ । समानुपातिकको नतिजालाई आधार मान्ने हो भने काँङग्रेसले आफ्नो मत खासै गुमाएको छैन् । तर एमाले र माओवादीले पाएको मतलाई जोड्ने हो भने कम्युनिष्ट दलहरुको स्पष्ट रुपमा वहुमत पुग्ने देखिन्छ । अथवा वहुमत जनमत कम्युनिष्ट भएको छ ।

२०४७ सालको राजनीतिक परिवर्तनपछि काँङग्रेसले २०४८ र २०५६ सालमा वहुमत प्राप्त गर्यो तर त्यसलाई सदुपयोग गर्न सकेन् । २०५१ सालको नौ महिना र पहिलो संविधान सभाको निर्वाचनपछि प्रचण्ड नेतृत्वको सरकार वाहेका कम्युनिष्टहरुको सरकार वनेको छैन् । त्यसैले पनि कम्युनिष्टहरु आएका केही गर्छन कि भन्ने अपेक्षा पनि यस पटक धेरै छ । उता नितिगत कुरा गर्दा २०४७ सालपछि काँङग्रेसले लिएको नितिका कारण पनि कम्युनिष्टहरुको संख्स्या वढेको देखिन्छ । विशेषगरी सामाजिक न्यायका विषयहरुका काँङग्रेसले लिएको नितीहरुका कारण जनता त्यति उत्साहित थिएनन् ।

यसरी हेर्दा एकातिर नेपालमा कम्युनिष्ट जनमतको संख्या वृद्धि भएको छ भने अर्काेतिर नेपाली काँङग्रेसको नीति तथा कार्यक्रमले जनतालाई आकर्षित गर्न सकेको छैन । विशेषत नेपाली काँङग्रेसको नेतृत्वले पार्टीलाई प्रभावकारी रुपमा संचालन गर्न नसकेको देखिन्छ । विगतमा कम्युनिष्ट दलहरु विभाजित हुँदा हावी भईरहेको काँङग्रेसका लागि अबका दिनमा झनै चुनौती देखिन्छ । निर्वाचनको नतिजापछि साना कम्युनिष्टहरु पनि एकिकृत हुँदै गएका छन् जुन नेपाली काँङग्रेसका लागि अझै चुनौतीको विषय देखिन्छ । पहिला काँङग्रेस, कम्युनिष्ट तथा राजावादी दलहरुमा विभाजित मत अव भने स्पष्ट रुपमा वाम र प्रजातान्त्रिक गरी दुई वर्गमा विभाजित भएको देखिन्छ । यदि एमाले र माओवादी एकता भयो भने स्पष्ट रुपमा नेपालको राजनिती दुई ध्रुवमा विभाजित भएको देख्न सकिन्छ ।