#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31829244976345742183423431065
नेपाल678044361741449954

दोहाको शुक्रबारे अनुभूति र मेरो सेरोफेरो

मुन्ताजा पार्कको बाटो ‘सि रिंगरोड’ तर्फ बढ्दै थियौं हामी तीनजना । तिलु भतिज गाडी चलाउदै छ । म अगाडिको सिटमा गजधम्म परेर बसेको छु । ‘बेल्ट लगाउ है बुढा नत्र पाँच सयको चलान आउछ ।’ तिलु मलाई भकाराको भैंसी जस्तो दाम्लिएर मात्र सिटमा बस्नको लागि सजग गराउछ । पछिलो सिटमा मोबाइलमा घोप्टिएर बसेकाछन पदम गिरी ।

उनी बाह्रमासे फेसबुके ग्राहक हुन् । उनले फेसबुक नचलाए जुकरवर्ग घाटामा जान्छ त्यसैले मोबाइलभन्दा बाहिर हेर्दैनन् उनी । बुढीसँग बात मार्दै छु ! उनले स्पष्टिकरण दिए । ‘मोबाईलभन्दा बाहिर हेर्यो भने भुनभुनी चक्कर लाग्छ।’ तिलुले डाइलग मारे । यसरी नै रमाइलो गर्दै हामी अघि बढ्छौं ।

कर्नेस नजिकै साथीको डेरामा हाम्रो बैठक छ आज । बैठक पनि के भन्नु, शुक्रबारे जमघट छ । अलिकति झम्केझोल, दुई किलो फ्रेश खसीको भुटेको मासु, सेकुवा अनि नेपालबाट अस्ति आएको दुई प्याकेट सुकुटी । आज यसैलाई रित्याउने र दिउसो अबेर कर्नेसमा गएर बंगालीको डुंगामा नाच्ने हाम्रो योजना छ ।

दोहामा यस्तै धेरै जमघटहरुलाई ‘बैठक या मिटिंग’ भन्ने गरिएको सुनिन्छ । हामी पनि हाम्रो भेटघाटलाई मिटिंग किन नभन्ने ? म प्रश्न उठाउछु । पछाडिको सिटमा बसेका पदम गिरी हलल हाँस्छन ।

ठ्याक्कै रत्नपार्कको झल्को दिन्छ मुन्ताजा पार्कले । फरक यत्ति छ कि रत्नपार्कमा महिला पुरुष बराबर भेटिन्छन त्यसको अनुपातमा महिलाको अनुहार देख्न नपाउने अभागी पार्क हो मुन्ताजा ।  फाट्टफुट्ट नेपाली दिदीबैनीहरु आइपुग्छन यहाँ त्यो पनि समय हेरेर मौका मिलाएर मात्र ।

जसरी बदाम ब्यापारीदेखि चटपटेसम्म र देह ब्यापारीदेखि अफिसियल सम्मको केन्द्र हो रत्नपार्क त्यसैगरी सामाजीक कार्यमा लागेका अभियन्ताहरुदेखि ठगिएका दुखिसम्म अनि  डिप्लोम्याटदेखि दलालसम्मको बैठकस्थल हो मुन्तजा ।

यो पार्कले हरेक सुक्रबार दर्जनौं नेपाली संघसंस्थाहरुका तपशिलका निर्णयमा साक्षी बसिदिएको हुन्छ । ल्याप्चे लगाइदिएको हुन्छ । बैठकहरुका गोपनियता लुकाइदिएको हुन्छ । दुखीको आँशु दबाइदिएको हुन्छ र दलालको अट्टहास सहेको हुन्छ । समग्रमा मुन्ताजा सिंगो कतारको प्रतिनिधिस्थल हो जहाँ दुख-सुख, हासो-रोदन, समाजसेवा-दलाली र ब्यापार सबैकुरा अटाएको हुन्छ समेटिएको हुन्छ ।

हामी अगाडि बढ्यौं, रिंगरोडको रातोबत्तीबाट शर्मा बाजेको कार मन्सुरातर्फ मोडियो । मन्सुरा मध्यमस्तरको कमाई हुने आम नेपाली युवायुवती डेरा गरेर बस्ने ईलाका हो । ठूला कम्पनीका क्याम्पहरु पनि यो एरियामा रहेका छन् । लेवर सिटि या सहेलियातिरका झुपडीवाला क्याम्पमा बस्नेभन्दा मन्सुरा तिर बस्ने मजदुरहरु खानदानी मानिन्छन दोहामा ।

केही चेलीहरु सुक्रबारे बसीवियालो अथवा घुमघामको लागि सजधज भएर ट्याक्सीलाई आवाज दिदै गरेको दृष्य सुन्दर देखिन्छ । हेयर स्टाईल, जिन्स पैण्ट लगाउने तरिका, चेलीको स्वरुप, लिपिष्टीक लगाउने अथवा मेकअप गर्ने तौरतरिका हेरेरै चेली नेपाली हुन या अन्य देशकी भनेर छुट्याउन सकिन्छ । यतिन्जेमा हाम्रो गाडी मन्सुराको अलमिरा पुगिसकेछ  ।

हामी अलमिराबाट अलिकति अगाडि बढ्यौं, अगाडि निलो जिन्स पाईन्ट र सेतो टिसर्ट लगाएकी मंगोलीयन अनुहार भएकी एकजना युवती उभिएकी छन । यिनी पक्कै नेपाली हुन, मैले ओठको ईशारा गर्छु । तिलु सोध्छ कसरी अनुमान गर्यौ बुढा ? उनको बडेमानको चस्मा हेरेर पदमले कुरा थप्छ । क्यारिफोर कि चमेली हो । पदमले चिनेझै गरेर ठोकुवा गर्यो । तिम्लाई के था ? यो कतार एयरवेजको एरिया हो । तिलुले अनुमान लगायो ।

जहाजको लागि त हाइट पुग्दैन त्यसको, पक्कै सुपरमार्केट कै हुनपर्छ । पदमले आफ्नो अनुमानलाई जोड दियो । जो भएपनि जे गरेपनि जता हिंडेपनि त्यो हाम्रो चासोको बिषय थिएन । गाडीभित्र बोल्ने बिषय केहि नभेटेको कारणले मात्र हामी गलफत्ती र पखालो गरिरहेका थियौं ।

केहीबेरमा हामीचेली उभिएको ठाउँ पार गर्ने अवस्थामा थियौं  । पैदल हिडेको भए नजिकैबाट जाँदा उनले आज कुन अत्तर घसेकी छिन् त्यो पनि सजिलै पत्ता लागिहाल्थ्यो । अरवी सुगन्ध या हिन्दुस्तानी टाईपको मैले सुगन्धको बखान गरें । अरवमा परफ्युम घस्ने अचम्मको परम्परा छ जुन मलाई पटक्कै मन पर्दैन ।

तर दुर्भाग्य हामी शर्मा बाजेको एक्लो छोराको रातो गाडीमा थियौं ! हामी ति चेली नजिक पुग्नुभन्दा अगावै एउटा ल्याण्डक्रुजर चरर गर्दै शर्मा बाजेको गाडी अगाडि रोकीयो । मरेस मुर्दार झन्डै ठोकेन…! तिलुले इमर्जेन्सी ब्रेक हान्यो, गाडी बराबरीमा रोकियो ।

ल्याण्डक्रुजरको अगाडिको ढोका खुल्यो । सेतो जामा लगाएको एकजना मान्छेले भन्यो -‘ताल हविवि’ । उभिईरहेकी नानी ‘हाई’ गर्दै ल्याण्डक्रुजर चढीन् । ‘गाडी होइन…..ठोक्छ अब’ रिसले मुर्मुरिएको शर्मा कान्छोले अरबिले नसुन्ने गरि ‘इन्ता हमर’ भन्यो । ‘तँ गधा’ भनेको रहेछ । अरवीले सुन्ने कुरा भएन । ल्याण्डक्रुजर अगाडि हुँईकियो ।

आज पेरिसको परफ्युम होइन दाई- अरवी सुगन्ध आउने, गोल्ड सुकमा पाईने, हार्ड पोईजन अत्तर लगाएकी छन हविविले पक्कै । पदमले अघिको क्रुजरवाला हमर लाई सम्झदै अत्तरको अनुमान गरे, तिलु हास्यो हलल गरेर । मैले कुरा बुझिन ।

अरवीहरु निकै मन पराउछन् हार्ड पोईजन । यो लगाएपछि एक हप्ता त नुहाउनै पर्दैन । नाके एनेस्थेसीया जस्तै हो यो । एकपटक घसेपछि हप्ताभरलाई ढुक्क ! पदमको अत्तरको अनुमानमा तिलु नराम्रोसंग मुख च्यातेर हाँस्यो, गाडी रोकेर हाँस मुला मलाई डर लाउछ । उनीहरुको कुरा नबुझेर म मुर्मुरिएँ ।

साथीको डेरामा पुग्यौ हामी । तरवार गेट नजिकै एउटा ठूलो कम्प्लेक्सको ‘नाथुर’ (घर कुरुवा पाले) हो हाम्रो साथी मुकुल । उसको जागीर गज्जपको छ । न सुत्नको समय न उठ्नको समय न कुनै अफिस न समयमा कतै पुग्नुपर्ने न कुनै औपचारिक लुगा लगाएर ड्युटी गर्न पर्ने । आफ्नै कोठा अफिस त्यहि कोठा नै उसको संसार ।

उसको काम भनेको आठ तले घरमा रहेका सबै अफिसहरुमा बिजुली पानीको ब्यबस्था हेर्नु, गाडी पार्किंगको अवस्था हेर्नु मात्र हो । अफिस खुल्ने दिन त अलिअलि ब्यस्त हुन्छ शुक्रबार शनिबार फुक्काफाल ‘मर्जिको मुदिर’ हुन् हाम्रा मुकुल दाइ । अचेल त सामाजिक संस्थाका नेता समेत भएका छन् ।

मुकुल मासु पोलेर, भुटेर सेकुवा भुटन तयार गरेर हामीलाई पर्खिरहेका थिए ।  सुकुटी र झम्केझोल तिलुको गाडीमा थियो, शुभकार्यमा ढिलाई किन ? हामी जम्यौं अबेरसम्म । हेर्दाहेर्दै चार बज्यो तासमा तिलुले तीन रियल हारेछ । मैंले त हारें यार अब उठम, तिलुले हारेको तीन रियल पदमले जितेको रहेछ, मुकुल दाई तीनबुक तास पट्याउनतिर लागे ।

अब कर्नेस गएर डुंगा चढ्ने, पदमले अगाडिको कार्यक्रम सुनायो । मुकुलको निवासबाट पांच मिनेटमा कर्नेस पुगिन्छ । तर अल्छी मुकुल दिनमा एकपटक कर्नेस पुग्दैन । झम्केझोल चाखेपछि अब गाडी चलाउने कुरा भएन । शर्माजीको गाडी मुकुलको बेसमेन्टमा हुलेर हामी पैदलै कर्नेसतर्फ सोझियौं ।

कर्नेस आफैमा नेपालीको दुख बिसाउने थलो हो । कतै हप्ताभरी भेट हुन नपाएका प्रेमीप्रेमिका, श्रीमान श्रीमती या दाजुभाई दिदीबहिनीहरु आपसमा भेटेर संगै खाना खाने र पार्कमा बसेर सुख दुख सुनाउने ठाउँ हुदै गईरहेको छ कर्नेस । अर्को हिसावले यो डेटिङस्पट पनि हो । अन्यत्रभन्दा अलि बढी नै स्वतन्त्रता पाइन्छ यहाँ अलिकति छेको पारेर खुसुक्क चुम्बन गर्नु अथवा यसो मायालुको काखमा टाउको बिसाएर हप्ताभरिको न्याश्रो मेटाउने सुरक्षित् ठाउँ हो कर्नेस ।

सिंगो नेपालको प्रतिनिधि क्षेत्र जस्तो कतै सेलरोटी फिँजाएर खाँदै गरेका समूह भेटिन्छन । कतै ढाकाटोपी ढल्काएर रमाइरहेका मान्छे भेटिन्छन । गुन्यु चोलीदेखि मिनीस्कर्टसम्म दौरासुरुवाल देखि ढाकाटोपीसम्म सबै किसिमका लुगा लगाएका रंग रंगका नेपाली दाजुभाई दिदीबैनीहरुलाई समस्टिगत रुपमा भेटिने ठाउँ हो कर्नेस । साँच्चै कर्नेस चार वर्ण छत्तिस जातको फुलवारी जस्तो लाग्छ मलाई कहिलेकाँही ।

सेन्ट्रल बैंक अगाडिको जेब्राक्रस लगत्तैको कटमा त्यहि ल्याण्डक्रुजर चरर गरेर रोकियो जसले नौ बजेतिर मन्सुरामा हामीलाई छेकेको थियो । उनै चेली सेतो जामावाला हबिबीलाई हात हल्लाउदै कर्नेसतिर सोझीइन ।  अब परफ्युमको गन्ध फेरिन्छ – शर्माजीले डाइलग मारे ।

डुंगा चढेर समुद्रमाथि जानु घुम्नु नयाँ कुरा थिएन । डुंगामा डुल्नभन्दा पार्कमै सुस्ताउन रमाइलो लाग्छ मलाई । पार्कका रंगीचंगी फुल हेर्यो, दुबोमा पल्टिएर समय बितायो र नजर परेकाहरुलाई पर पुगुन्जेल नियाल्यो । यी मेरा रहरका बिषय हुन् ।

संग्रहालय नजिकैको डुंगा स्टेशनमा बंगालीको डुंगाभाडा दश रियल कि पन्ध्र रियल भनेर हामीले बार्गेनिंग गर्न नभ्याउदै  एउटा सेतो चमचमाउदो सानो पानीजहाजबाट कसैले फेरि ‘ताल हबिबि’ भनेर हात हल्लाएको देखियो ।  मैले फर्केर हेरें, त्यहि अघि ल्याण्डक्रुजरले कर्नेसमा ड्रप गरेकी चेली सेतो सानो पानीजहाजतिर जादै थिईन । उनलाई बोकेर सेतो सानो पानिजहाज समुद्रमा अगाडि बढ्यो र सुलुलुलु पर सेराटन होटल उतापट्टीको क्षितिजमा अलप भयो ।

जति जति साँझ पर्दै गयो कर्नेसमा नेपाली दाजुभाई दिदीबैनीहरुको भिड बढ्दै गयो । कोहि समुहमा बसेर मादल बजाएर नाच्न थाले, कोहि डेराबाट पकाएर ल्याएको खानेकुरा आपसमा बाडेर खादै थिए । त्यत्तिकैमा दुइतिन घण्टा अगाडी पर क्षितिजमा अलप भएको सेतो फुच्चे पानीजहाज किनारामा आइपुग्यो । त्यसबाट दुइथान प्राणि बाहिर निस्के ।

शर्माजीले निधारतिर देखाउदै मलाई भने– ‘यी यहाँ लेखेर ल्याउनपर्छ त्यस्तो जहाज चढ्नलाई ।’ पदमले निधार होइन, हो यता लेखेर ल्याउनपर्छ मुला भनेर “ई यता” इशारा गर्यो । हामीले बिहानदेखि अहिलेसम्म पटक पटक देखेको अनुहार कर्नेसको बगैचा पार गर्दै पार्किंग एरियामा प्रवेश गर्यो त्यहाँ अर्को तेश्रो ल्याण्डक्रुजर उनको पर्खाईमा थियो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार