शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा लिने ६ जना मात्रै !

शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा लिने ६ जना मात्रै !


काठमाडौं,
शिक्षित युवालाई स्वरोजगार बनाउन सरकारले ल्याएको शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा पाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । सो व्यवस्था अनुसार कर्जा पाउन नसकेकोे युवाले गुनासो गर्दै आएका छन् ।

पाँच प्रतिशत ब्याजदरमा प्राप्त हुने यस्तो कर्जा दिन बैंकले नै चासो नदेखाएपछि युवाहरू पीडित बनेका हुन् । नुवाकोट स्थायी घर भएका बालाजु बस्ने नवीन पाठकले आफ्नो व्यवसाय विस्तार गर्न एनएमबी बैंकमा कर्जा लिन गए । एनएमबी बैंकले कृषि व्यवसाय गर्ने भए मात्रै कर्जा दिने भनेपछि उनी राष्ट्रिय वाणिज्य बैंक गए । गत चैतमा नवीनले राष्ट्रिय वाणिज्य बैंक बालाजु शाखाबाट कर्जाका लागि आवेदन दिए । उनको आवेदन बैंकले नै हराइदियो । पटक पटक बैंकमा धाएपछि बल्ल बल्ल फाइल खोजियो । तर, कर्जा भने दिइएन । आवेदन दिएको २१ दिनमा पाउनुपर्ने कर्जा ४/५ महिना हुँदा पनि नवीनले कर्जा पाएनन् । राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रमुख शिवप्रसाद चालिसेले कर्मचारी अभाव भएकाले कर्जा दिन ढिला भएको बताए ।

उनीझैं धेरै युवा पीडित छन् । यसतर्फ न बैंक जिम्मेवार देखिन्छन् न सरकार नै । सरकारले चालू आर्थिक वर्षको बजेटमा युवालाई स्वरोजगारमा आकर्षित गर्न शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने व्यवस्था ल्याएको थियो । बजेटमार्फत आएको यस्तो कार्यक्रमप्रति भने आकर्षण नै बढ्न सकेको छैन । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले कर्जा लिन विद्यार्थी नै नआएको बताए । उनले भने, ‘कर्जा लिन कोही आएकै छैनन् ।’

बैंकले यस्तो कर्जा दिन निकै आलटाल गरिरहेको छ । बैंकमा जाँदा कर्जा नदिने अनि आवेदन नै आएको छैन भन्दै बैंक उम्किने गरेका छन् । धितो मजबुत नभएका कारण बैंक यस्तो कर्जा दिन इच्छुकै छैनन् । बैंकरकै कारण सरकारको यो योजना असफल भएको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिनेको संख्या ६ जना रहको छ ।
राजधानीबाट

Logo