चीनमा भारी वर्षाले पाँच जनाको ज्यान गयो

चीनमा भारी वर्षाले पाँच जनाको ज्यान गयो


चीन,

दक्षिणी चीनमा भारी वर्षा हुँदा कम्तीमा पाँच जनाको ज्यान गएको छ । त्यस्तै हजारौँ मानिस फसेको अधिकारीहरूले बताएका छन् । वर्षाले सयौँ घरमा क्षति पुर्‍याउनुका साथै हजारौँ हेक्टर जमिनमा लगाइएका बालीनाली सखाप पारेको छ ।

अझै केही दिनसम्म पानी पर्ने क्रम जारी रहने अनुमान गरिएको छ । नौ वटा शहरमा बाढी पसेपछि जियाङ्ग्सी प्रान्तमा मात्रै डेढ लाख मानिसलाई अन्यत्र सारिएको छ । चाइना डेली पत्रिकाका अनुसार दक्षिण पश्चिमी ग्वाङ्ग्सी प्रान्तमा २० हजार भन्दा बढी घरमा बिजुली आपूर्ति बन्द भएको छ ।

मौसम पूर्वानुमान निकायका अधिकारीहरूका अनुसार बिहीवारसम्ममा ग्वाङ्ग्डुङ, सुच्वान र ताइवानमा वर्षा फैलिनेछ । वर्षाका कारण हुने सम्भावित पहिरोबाट सजग रहन पनि अधिकारीहरूले आग्रह गरेका छन् । विगतमा मुसलधारे वर्षाका कारण दक्षिणी चीनमा पहिरोहरू गएका दृष्टान्त छन् ।

सरकारी सञ्चारमाध्यमका अनुसार वर्षाका कारण २० लाख मान्छे प्रभावित भएका छन् भने सडक तथा पुलमा नराम्ररी क्षति पुगेको छ । ग्वाजो प्रान्तको एउटा शहर नै दुई मिटर पानीमा डुबेको छ । मौसम पूर्वानुमान सम्बन्धी चिनियाँ निकायका अनुसार दक्षिणी प्रान्त जियाङ्ग्सी र हुनानमा जुन महिना यताकै सबैभन्दा बढी वर्षा भएको छ ।
बीबीसी

Logo