दिल्लीमा सुरु भयो नेपाल-भारत रेल सेवा सम्झौताको तेस्रो बैठक

दिल्लीमा सुरु भयो नेपाल-भारत रेल सेवा सम्झौताको तेस्रो बैठक


काठमाडौं । नेपाल-भारत रेल्वे सम्झौताको विस्तृत पूनरावलोकनको तेश्रो बैठक दिल्लीमा सुरु भएको छ । सन् २००४ मा भएको रेल सेवा सम्झौताको तेस्रो बैठक बिहीबारदेखि सुरु भएको हो । रेल सेवा सम्झौता भएको डेढ दशकको अवधिमा २००९ मा पहिलो र २०१२ मा दोश्रो बैठक बसेको थियो।

दिल्लीको केन्द्रीय सचिवालय, रायसीना रोडस्थित भारतीय रेल मन्त्रालयमा सुरु भएको द्विपक्षीय बैठकमा मुख्य रुपमा नेपाल र भारतबीच रेल कनेक्टिभिटिको समग्र विषयमा समिक्षा हुनेछ । मुख्य रुपमा बल्क कार्गोको आप्रवाहलाई सहज, सरल, द्रूत र मितव्ययी बनाउने विषयमा छलफल हुँदैछ। यसका प्राविधिक विषयमा पनि छलफल हुने बैठकमा सहभागी हुने नेपाली अधिकारीहरुले जनाएका छन् ।

निर्माण सम्पन्न जनकपुर-जयनगर खण्डको लागि भारत सरकारले नेपाललाई अनुदान सहयोग वापत दिएको बुग्गी हस्तान्तरणदेखि, कार्गो आप्रवाह सेवालगायत थप लाइन विस्तारसम्मका समग्र विषयमा यो बैठकमा समीक्षा हुनेछ । त्यसैगरी रक्सौलदेखि काठमाडौं रेलसेवा विस्तार योजनाको संभाव्यता अध्ययनका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

दुई दिनसम्म चल्ने बैठकमा नेपालका तर्फबाट उद्योग तथा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल नेतृत्वको टोली रहेको छ भने भारतका तर्फबाट भारतीय रेल्वे बोर्डका कार्यकारी निर्देशक मनोजकुमार नेतृत्वको टोली सहभागी छ ।

Logo