आज नेकपा स्थायी कमिटी बैठक बस्दै

आज नेकपा स्थायी कमिटी बैठक बस्दै


काठमाडौं ।

आज नेकपा स्थायी कमिटीको बैठक बस्ने भएको छ । यस अघि मंसिर २८ गते बालुवाटारमा बसेको बैठकले आजका लागि अर्को मिति तय गरेको थियो । सो बैठकमा नेकपाका केन्द्रीय सदस्य एवं पूर्वसांसद कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पेश गरिएको थियो । लामाको मंसिर २४ गते निधन भएको थियो ।

आज बस्ने बैठकमा मंगलबार सरकारले ल्याएको संवैधानिक परिषदको अध्यादेशका विषयमा छलफल हुने बताइएको छ ।

स्थायी कमिटीको बैठक लम्बिएका कारण पूर्व निर्धारित मङ्सिर २५ गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक आगामी पुस ५ गतेका लागि सारिएको छ ।

सो पार्टीको पछिल्लो सचिवालय बैठकले पार्टीभित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन स्थायी कमिटीमा लैजाने निर्णय गरेको थियो । मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको लिखित प्रस्तावपत्रका सम्बन्धमा शीर्ष नेताहरुबीच विवाद हुँदै आएको छ ।

नेकपाभित्र मन्त्रिपरिषदमा हेरफेर, राजदूत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्यकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भई नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयलसँग गरेको भेटवार्ता आदिबारे विवाद उत्पन्न भई अध्यक्षद्वयबीच लिखित आरोप–प्रत्यारोपपत्रको क्रम चलेको छ । शीर्ष नेताहरुको विवाद मिलाउन स्थायी कमिटी र केन्द्रीय कमिटीका सदस्य कतिसम्म सफल हुन्छन् भन्ने चासो पनि देखिएको छ ।

Logo