मिङ्माद्धारा सगरमाथा आरोहणमा नयाँ कीर्तिमान

मिङ्माद्धारा सगरमाथा आरोहणमा नयाँ कीर्तिमान


काठमाडौं । हिमाल आरोही मिङ्मा दोर्ची शेर्पाले सबैभन्दा कम समयमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका छन् । संखुवासभाका शेर्पाले यही जेठ १३ गते ६ घण्टा १ मिनेटमा सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका हुन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पायोनियर एडभेन्चरले शेर्पाले सगरमाथा र चौथौं ल्होत्से हिमालको पनि सबैभन्दा छोटो समयमा सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेको औंपचारिक जानकारी गराएको हो । यस अघि निर्मल पूर्जाले १० घण्टा १५ मिनेटमा सगरमाथाको सफल आरोहण गरेका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै नयाँ कीर्तिमानधारी शेर्पाले नेपालीहरुको सहयोगमा विदेशीहरुले हिमाल आरोहणको क्षेत्रमा नयाँ–नयाँ कीर्तिमान राखेपछि आफूलाई पनि छोटो समयमै सगरमाथाको आरोहण गरेर नयाँ कीर्तिमान कायम गर्ने इच्छा जागेको प्रतिक्रिया दिए ।

शेर्पाले गत जेठ १३ गते बिहान ६ बजेर ४५ मिनेटमा सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गरेको जिपीएस ट्रेकिङले पनि पुष्टि गरेको छ । सबैभन्दा कम समयमा सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान बनाएका शेर्पाले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि पर्यटन व्यवसायीहरुसँग सहकार्य गरेर अघि बढन सरकारलाई पनि सुझाव दिए ।

संखुवासभाको मकालु गाउँपालिका वडा नम्बर २ का शेर्पाले सगरमाथाको ५ पटक सफल आरोहण गरिसकेका छन् । त्यसैगरी उनले ल्होत्से हिमालको ३ पटक, मकालुको ३ पटक, मनास्लुको ३ पटक, केटु हिमालको २ पटक, धवलागिरी हिमालको २ र आमादब्लाम हिमालको २ पटक गरी २० पटक हिमालहरुको सफल आरोहण गरिसकेका छन् ।

मकालु हिमालबाट टे«किङ गाईडको रुपमा हिमाल आरोहणको क्षेत्रमा प्रवेश गर्नु भएका ३२ वर्षीय शेर्पा ६ वर्षकै उमेर आमा र १४ वर्षको उमेरमा बुबालाई गुमाउनु परेपछि पढाईलाई बीचैमा छोडेर जीवन निर्वाहका लागि यस क्षेत्रमा प्रवेश गरेका छन् ।

Logo