गणतन्त्र दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

गणतन्त्र दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना


काठमाडौँ,

राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना दिनुभएको छ ।

सन्देशमा उहाँले विश्वमा लोकप्रिय तथा समृद्ध पद्धतिका रुपमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था जीवनपद्धतिका रूपमा स्थापित र संस्थागत हुँदै जानु गौरवको विषय रहेको बताउनु भएको छ । आज दिनुभएको सन्देशमा राष्ट्रपतिले देशमा सुशासन, द्रुततर आर्थिक सामाजिक विकास सहित समृद्धि हासिल हुने आम नेपालीको अपेक्षा साकार पार्नु सबैको सामूहिक दायित्व रहेको औँल्याउनु भएको छ ।

उहाँले सामाजिक न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक संकल्प पूरा गर्ने दिशामा सरकार अग्रसर हुँदा समृद्धि हासिल हुने विश्वास आफूले लिएको बताउनु भएको छ ।

उहाँले मुलुकको समग्र विकास र समृद्धिका लागि आआफ्नो क्षेत्रबाट सबै नेपालीलाई योगदान गर्न आव्हान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा गणतन्त्र दिवसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट राष्ट्रिय एकता प्रवद्र्धनसहित समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय संकल्प सार्थक बनाउन प्रेरणा र ऊर्जा प्राप्त हुने शुभेच्छा प्रकट गर्नुभएको छ ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिनुहुँदै गणतन्त्र राजनीतिक प्रणाली मात्रै नभई, समग्र सामाजिक रुपान्तरणको व्यवस्था रहेको बताउनु भएको छ । उहाँले सबैलाई खाद्य व्यवस्था, आवास, कपडा, शिक्षा, स्वास्थ्य र सुरक्षा विकासको प्रस्थानबिन्दु रहेको बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीले जनताको अनुहार मलिन हुने विवशता अन्त्य गर्न लिएको सङ्कल्पमा दृढता व्यक्त गर्नुहुँदै सङ्कल्प पूरा गर्न समग्र नेपालीको बलियो साथ रहने विश्वास लिनुभएको छ । उहाँले जनताको जीवनमा लोकतन्त्रको सार्थक अनुभूति गराउने अभियानमा विकास, समृद्धि, सुशासन एवम् स्थिरता सरकारको मुख्य गन्तव्य रहेको प्रष्ट्याउनु भएको छ ।

प्रधानमन्त्री ओलीले सरकारको ध्येय गरिबी, विपन्नता, पछौटेपन, सामाजिक उत्पीडन तथा शोषण, विभेद र भ्रष्टाचारविरुद्ध केन्द्रित रहेको उल्लेख गर्नु भएको छ ।

Logo