नियमविपरीत सवारी साधन चलाए अब १ लाख रुपैयाँ जरिवाना

नियमविपरीत सवारी साधन चलाए अब १ लाख रुपैयाँ जरिवाना


रुकुमपश्चिम । आठबीसकोट नगरपालिकाले नियमविपरीत चल्ने सवारी साधनलाई कारवाही गर्ने भएको छ। लामो तथा छोटो दूरीमा नियमविपरीत सवारीसाधन सञ्चालन भइरहेको गुनासो आएपछि नगरपालिकाले अब त्यस्ता सवारी साधनलाई कारवाहीको दायरामा ल्याउने भएको हो ।

नगरमा सञ्चालित छोटो तथा लामो दूरीका सवारी साधनलाई सवारी नियम पालना गर्न सचेत गराउँदै नगरपालिकाले नियम पालना नगरे एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै जीप तथा भाडाका सवारी साधन रुट परमिट नलिई सञ्चालन भइरहेको, यात्रु तथा सवारी बीमा नगरेको, ब्लु बुक, लाइसेन्सजस्ता कागजात नभएको भेटिएको बताएको छ।

नगरपालिकाले तत्कालै नियम पालना गर्न सचेत गराएको छ। अब पनि त्यस्तै त्रुटि भेटिएमा कारवाही गर्ने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिए। नियमविपरीत जथाभावी सवारीका साधन सञ्चालन हुँदा दुर्घटनाको जोखिम बढ्नुका साथै यात्रुसमेत ठगिने सम्भावना पनि उत्तिकै रहेकाले नगरमा सञ्चालन हुने सवारी साधनलाई नियमन गर्न लागिएको उनको भनाइ छ।

त्यस्तै नगरपालिकाले टिकट काउन्टरमा बस्नेलाई अनिवार्य परिचयपत्र लगाउन र टिकट काउन्टरबाट मात्र टिकट काट्न पनि सचेत गराएको छ। सवारी साधनलाई नियमन गर्न लागिएपछि नगरको यातायात सेवा व्यवस्थित हुने नगरवासीले अपेक्षा गरेका छन्। रासस

Skip This
Logo