मिडिया काउन्सिल विधेयकको विरोधमा उभिए बामदेव गौतम

मिडिया काउन्सिल विधेयकको विरोधमा उभिए बामदेव गौतम


काठमाडौं । सत्तारुढ दल नेकपा नेता बामदेव गौतमले सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयकको विपक्षमा उभिएका छन् । उक्त विधेयकको विरोध गर्दै नेता गौतमले संसदमा दर्ता भएको मिडिया काउन्सिल कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक जस्ताकोतस्तै अगाडि नबढाउन आग्रह गरे ।

गौतमद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रियसभा सचिवायलयमा रहेको उक्त विधेयकका विवादास्पद प्रावधानहरु सञ्चार क्षेत्रका जिम्मेवार एवं सरोकारवालासँग छलफल गरी टुंगो लगाउन र अहिलेकै अवस्थामा अघि नबढाउन म नेपाल सरकार, सम्बन्धित सरकारी निकायलगायत सम्बन्धित सबैमा आग्रह गर्दछु ।’

विधेयकका कतिपय प्रावधान संविधानको अक्षर र भावना विपरित रहेको उनको निष्कर्ष छ । ‘उक्त विधेयकका केही प्रावधान नेपालको संविधानको अक्षर र भावनाअनुरुप बनाउनुपर्ने आवश्यकता मैले देखेको छु’, उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

सरकार, राजनीतिक पार्टी र प्रेस सबै मर्यादित र अनुशासित हुनुपर्दछ भन्ने विचारसँग आफू पूर्ण सहमत भएको तर समय समयमा पेशाको मर्यादा र भावना कुल्चिएर गरिने पत्रकारिता (पीत पत्रकारिता) बाट आफू पनि शिकार हुँदै आएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘कुनै पनि व्यक्तिको चरित्र हत्या हुने, बदलाको भावनाले परिचालित हुने र राष्ट्रिय हितलाई वेवास्ता गर्ने क्रियाकलाप सञ्चार क्षेत्रमा प्रकट हुन नदिन सबै जिम्मेवार सञ्चारकर्मी मित्रहरुलाई पनि हार्दिक अनुरोध गर्दछु ।’ उनले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

समाचार लेखेकै कारण पत्रकारलाई दश लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था उचित नभएको गौतमको दावी छ । बोल्न नसक्नेहरूका प्रतिनिधि, समाजका पहरेदार र ऐनाको रुपमा रहेको पत्रकारलाई सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए । ‘प्रेस, व्यवसायिक पत्रकार र सञ्चारकर्मीहरुलाई स्वतन्त्र, निष्पक्ष, निर्भिक एवं सुरक्षित वातावरणमा काम गर्ने अवस्था राज्यले निर्माण गर्नुपर्दछ ।’

Logo