प्रेम सञ्जेल भन्छन्, ‘भ्रष्ट कर्मचारीलाई पाँच मिनेटमै अवकाश दिनुपर्छ’

प्रेम सञ्जेल भन्छन्, ‘भ्रष्ट कर्मचारीलाई पाँच मिनेटमै अवकाश दिनुपर्छ’


काठमाडौं । ‘हामी घुस खाँदैनौं, तपाईं घुस दिन आउनुभएको भए उल्टो कारबाहीमा पर्नुहोला। हजुर सावधान !’ उप-सचिव प्रेमप्रसाद सञ्जेल जहाँ-जहाँ सरुवा भएर जान्छन्, त्यस कार्यालयको गेटमा यस्तो लेखिएको पोस्टर टाँसिएको हुन्छ।

विराटनगर-५ घर भएका प्रेम सञ्जेल ५६ वर्ष पुगे। उनले सेती अञ्चल अदालत दीपायलबाट २०३८ साल कात्तिक २८ गते सरकारी सेवा सुरू गरेका थिए। सुब्बाबाट जागिर सुरू गरेका उनी त्यसको दस वर्षपछि लोकसेवा पास गरेर अधिकृत भए । अधिकृत भएपछि उनले तेह्रथुम जिल्ला शिक्षा कार्यालयमा पहिलोपटक सेवा गरेका थिए।

हाल उप-सचिव रहेका सञ्जेलले सरकारी सेवामा थुप्रै आरोह-अवरोह पार गरेका छन्। नेता, मन्त्री, सचिव र राजनीतिक शक्तिकेन्द्रको कानुनीरगैरकानुनी दबाब झेले । ३७ वर्षको यो समयमा धेरै ठाउँ पोस्टिङ भए। ‘जता-जता गएँ, भ्रष्टाचार रोक्न खोजेँ,’ ।

भ्रष्टाचार रोक्न खोज्दा राजनीतिक शक्तिकेन्द्रको दबाबमा मनपरी सरुवा पाए । धेरै दुःख । यतिबेला उनी कर्मचारीतन्त्रमा एकमात्र भ्रष्टाचारविरोधी कर्मचारीको रुपमा परिचित छन् । तिनै निडर, कर्मठ र देशप्रति ईमान्दार सञ्जेलसँग केन्द्रबिन्दुले कुराकानी गरेको छः

१.भ्रष्टाचारविरुद्ध आवाज बुलन्द गरिराख्नु भएको छ । तपाईले उठाउन खोज्नुभएको मुख्य बिषय के–के हुन् ?

जम्मा चार वटा मुख्य विषयहरु छन् । पहिलो निजामति सेवा र राष्ट्र सेवक दर्जाका कर्मचारीले घुस खाने, कमिसन खाने, प्रतिशत खाने, देश डुबाउने, अर्काको बाउसँग आफु घुस खाने आफ्ना बाउसँग अर्काले घुस खाने हो भने निजामती सेवाको नाम फेर्नुपर्यो र राष्ट्र सेवा दर्जा फेर्नुपर्यो । दोस्रोः राजनीति भनेको देशलाई गाडी मान्ने हो भने त्यो देशको स्टेरिङ हो । जसले गाडीलाई सिधा राख्नुपर्यो । त्यस्तै राजनीतिले पनि भ्रष्टाचार गर्नुभएन् । कर्मचारीले भ्रष्टाचार गर्यो भने पाँच मिनेटमा अवकाश दिने अधिकार छ ।

तेस्रोः अख्तियार जस्तो संवैधानिक अंग भनिने संस्थामा बसेर भागबन्डामा मान्छे नियुक्ति गर्नु भएन । राजनारायण पाठकको जस्तो काम गर्नु भएन । र अर्को के छ भने भ्रष्टाचार नेपाल ऐनमा राष्ट्रपतिदेखि सामान्य पियनसम्मले भ्रष्टाचार गरेको पाईयो भने जेल हाल्नु भनेको छ । त्यसको लागि कुनै प्रमाण पनि चाहिदैन् उनीहरुको कमाइ अनुसार कस्तो लाइफ मेन्टेन गरिरहेको छ, फजुल खर्च कत्तिको गरेको छ त्यहि आधारमा पक्राउ गर्न सकिन्छ । चौथोः कुरा जनताले पनि भष्ट्राचारीलाई बहिस्कार गरौ । यि चार वटा कुरा भएमा भ्रष्टाचार निर्मुल पार्न सकिन्छ । त्यसकारण यि चार वटा कुरा उठाएको हुँ । भ्रष्टाचार र अनियमितता विरुद्ध सबैले बोल्न पाइन्छ ।

२. तपाई निर्वाचन आयोगबाट समय अगावै सरुवा गरेकोले भ्रष्टाचार विरुद्ध बोल्न थालेको आरोप छ नि ?

मैले २०३८ साल कात्तिक २८ गते सेती अञ्चल अदालत दिपायलमा अस्थायी पोष्टमा लिखित र मौखिक दुवैतर्फ प्रथम भएर नियुक्ति पाएको हुँ । त्यहिबाट मैले भ्रष्टाचारविरुद्ध अभियान सुरु गरेको हो । त्यहाँ सुरक्षाको प्रमुख इन्सपेक्टर हुन्थे । तिनले कैदी कुटेर मारे भन्ने कुरालाई चन्द्र प्रसाद पराजुलीको इजलास र म भएर ज्यानमारा ठहर गर्यौ । यो इतिहासमै सायद पहिलो पटक भएको हुनुपर्छ । निजामती कर्मचारी भएर सेवा दिएको ४० बर्ष पुग्न लाग्यो । पशु सेवा विभागमा काम गर्दा २०६२ सालदेखि २०६४ साल सम्म १९ महिनामा २३ जनालाई जागिरबाट हटाएको थिए । ७४ जनालाई कारवाही गरेको थिए ।

त्यहाँ मैले ‘तपाईले किनेको चिया मेरो लागि तपाईकै रगत समान हो अतः मलाई चिया खान जाउ भनेर नभन्नुहोला’ भन्ने जस्ता ८ वटा पोष्टर लेखेर टाँसेका थिए । म सहकारी विभागमा काम गर्दा भ्रष्टाचारलाई प्रवेश निषेध लेखिएको थियो ।

त्यहाँ व्यक्तिहरुले राखेको डिपोजिट हिनामिना गरेर भाग्ने सहकारीहरुलाई कारवाही गर्न थालेपछि १३ महिनामा तीन ठाँउ सरुवा भएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङमा कार्यरत हुँदा पाँच जनाको स्थायी जागिर गएको थियो । यो अफिसमा हुने कुनै पनि काममा घुस रकम, दस्तुर, ईनाम बक्साउने काम हुँदैन् । यहाँ कुनै प्रकारको आर्थिक शुल्क लाग्दैन् । लागेमा प्रेम सञ्जाललाई भेट्नुहोला भनेर राखेको थिए । म अनवरत थिए, छु र रहिरहने छु ।

३. त्यतिबेला तपाईको त्यति चर्चा थिएन होला जति अहिले भईरहेको छ । तपाई भाइरल हुनुभएको छ । तपाईले कहाँ के बोल्नुहुन्छ भनेर खोज्नेहरुको संख्या धेरै छन् । कसरी अहिले चै त्यस्तो भयो त ?

त्यो बेला यति धेरै मिडियाहरु थिएन । १-२ वटा टिभी थिए । अहिले अनलाइन टिभीहरु धेरै छन् । अनलाइन पत्रिकाहरु धेरै छन् । पत्रिकाहरुको पनि संख्या बढेर गयो । पहिलेको तुलनामा अहिले चरम दुःख पनि दिइयो त्यसकारण पनि होला । मैले निर्वाचन आयोगमा काम गर्दा निष्पक्ष हुन्छ भनेर मलाई २ वर्ष नपुगी हटाईयो । त्यसपछि स्टे अर्डर लिएर फेरि काम गरे । चार वटा निर्वाचन गराए ।

राष्ट्रिय सभा, प्रतिनिधी सभा, प्रदेश सभा र स्थानीय निकाय । यसमा अन्तर्राष्ट्रिय निकायहरुबाट अनुसन्धान भइरहेको छ । मलाई निर्वाचन आयोगबाट हटाएर निर्वाचन गर्न खोजियो । उक्त चुनावमा मैले कसैलाई पक्षपात गरेको भए पार्टी वा सरकारले कारवाही नगरेपनि म आफैं राजीनामा दिउँला भन्दै सर्वदलिय बैठक गरेको थिए ।

४. तपाईले यसरी बोल्न थालेपछि आम मानिसले खुशी मानेका छन् । तर शत्रु पनि उत्तिकै कमाउनुभएको होला नि ?

मेरो बुबा निरक्षर भएर पनि मलाई मास्टर डिग्रीसम्म पढाउनुभएको हो । कठिन मेहनत र दुःख गरेर मलाई पढाउनु भएको हो । सायद म ५ कक्षामा पढ्दा हुनुपर्छ । धनकुटा मालपोत कार्यालयमा २ सय रुपैयाँ घुस मागेकोले मेरो बुवाको आँखा रसाएको थियो र त्यहाँ वितण्डा मच्चाउनु भएको थियो । त्यस दिन बुबाले रुँदै तैले पढेर कर्मचारी हुनुपर्छ र देशको भ्रष्टाचारविरुद्ध लाग्नुपर्छ भन्नु भएको थियो ।

मेरो जागिरको पहिलो दिन अफिस जाँदा उहाँले ‘आजदेखी जेल, ज्यान र जागिरमाथी हात बात र लात यि तीनवटा कुरा चलाउनु मरिस भने मेरो तीन वटा छोरा छन् एउटा शहिद थपियो भनुमला’ भन्नुभएको थियो ।

त्यसकारण शत्रु के कमाईन्छन् के कमाईदैनन् । माहात्मा गान्धीले ‘जो डरा वो मरा’ भनेका थिए । त्यसैले म यस्ता कुरादेखि डराउँदिन् । जबसम्म छु छदैँछु ।

५.दुख त दिइरहेका होलान् नी ?

दिइरहन्छन् । ७० दिनमा सरुवा गर्छन् । मेरो कार्यालयमा म भ्रष्टाचार गर्दिन् । भ्रष्टाचारीलाई देखि सहन्न । हामी घुस खादिनम् । तपाई घुस दिन आउनुभएको हो भने उल्टै कारवाहीमा पर्नुहोला सावधान भनेर लेखेर टाँसेको छु । बाथरुममा समेत टाँसेको छु । सरकारले मेरो सरुवा गर्दिन्छन् । लालबाबु पण्डितले मेरो सरुवा बदर गर्न सक्नुहुन्थ्यो । कानुनले पनि त्यै भनेको थियो ।

मैले ३ पटक निवेदन दिएको थिए । उहाँले नगरिदिनुभएपछि मैले प्रधानमन्त्रीलाई पनि ३ पटक निवेदन दिए । त्यसपछि पनि केहि नभएपछि म सुप्रिम कोर्ट जानुपर्यो । यस्तो दुख त दिन्छन् तर मैले बुवाको कसम मानेको छु । कसैसँग डराउँदिन । भ्रष्टाचारविरुद्धको अभियान निर्मुल पार्न लागिरहने छु । पहिलो शहिद हुन्छु भने पनि म तयार छु ।

६. तपाईले नेपालको सबै कर्मचारीहरु भ्रष्ट छन भन्नुभएको छ । त्यसकारण सबै कर्मचारी तपाईसँग रिसाएका छन् नि त ?

यो कुरा आंशिक सत्य हो । सबै कर्मचारी भष्ट्राचारी छैनन् । भष्ट्राचार नगर्ने कर्मचारीलाई म सलाम गर्छु । तर भ्रष्टाचार गर्ने कर्मचारी छन् । किनभने भ्रष्टाचार नगरेको भए फागुनमा बनाएको सडक असारमा कसरी भत्कन्छ ? तिनीहरुलाई कारवाही किन हुँदैन् ।

७. अब के गर्ने ? आउँदो दिनमा के हुन्छ ? कसरी अगाडि बढ्नुहुन्छ ?

भ्रष्टाचारविरुद्ध जनतालाई जनचेतना जगाउनु हो । उजुरी हाल्ने ठाउँमा उजुरी हाल्ने हो । मिडियालाई खबर गर्ने ठाउँमा मिडियालाई खबर गर्ने हो । भ्रष्टाचारविरुद्ध डट्ने हो, लड्ने हो । भ्रष्टाचारविरुद्ध बाँच्ने हो र भ्रष्टाचारविरुद्ध नै मर्ने हो । र जनतालाई आह्वान गर्ने हो । तपाईहरु सार्वभौम सत्ता सम्पन्न जनता हो । घुस नदिनुहोस घुस लिनेलाई पनि नछोड्नुहोस् । जनता अब जाग्नुपर्छ । राष्ट्रसेवको विल्ला भिरेर भ्रष्टाचार गर्नेलाई एकैदिन अवकाश दिनुपर्छ । अख्तियार दुरुपयोग जस्ता संस्थाले कार्वाही गर्नुपर्छ । राजनीति भ्रष्टाचारबाट मुक्त हुनुपर्छ ।

८. तपाईलाई असुरक्षाको महसुुस हुँदैन् ?

असुरक्षाको महसुुस मलाई हुँदैन् । किनभने म देशको लागि मर्न तयार छु । मेरो मृत्युले सानो संयन्त्र सुधार आउँछ भने म आफै मर्न तयार छु ।

९. अन्त्यमा सार्वजनिक रुपमा कसैलाई केहि भन्न चाहनुहुन्छ ?

एकदम भन्न चाहन्छु । सम्माननीय प्रधानमन्त्रीको महान वाणी अति राम्रो तर कार्यान्वयन एकदम जिरो । उहाँले नेकपाको नेतृत्व गर्नुभएको छ । सर्वहारा पार्टीको अध्यक्ष देशको प्रधानमन्त्री हुनुभएको छ । देशमा रोजगार नपाएर वैदेशिक रोजगारीमा जाने उनीहरु झन महामजदुर हुन् । उनीहरुको अवस्था हेरेर देशमा सरकार छन् भन्दा के भन्लान् ।

यो देशमा मजदुरी पनि नपाएर उनीहरु विदेसिएका हुन् । हामीलाई कर्मचारी भन्दा, नेता भन्दा लाज हुनुपर्ने हो । हामीले सुशासन छ भन्दा लाज हुनुपर्ने हो । कर्मचारीहरुले राष्ट्रसेवकको विल्ला भरेर राष्ट्र सेवक, राष्ट्र चुसक, राष्ट्र नाशक भएर हिड्नु भएन । जनताहरु आफै उठ्नुपर्यो, जाग्नुपर्यो । भ्रष्टाचारी देख्ने वित्तिकै कारवाही गर्नुपर्यो । यति भन्न चाहन्छु ।

https://www.youtube.com/watch?v=FKqZIteDch4&t=1s

Logo