कांग्रेस प्रवक्ताको प्रश्न, ‘मदन भण्डारीका जीप चालक अमर लामा किन मारिए ?’

कांग्रेस प्रवक्ताको प्रश्न, ‘मदन भण्डारीका जीप चालक अमर लामा किन मारिए ?’


काठमाडौं । नेकपा एमाले तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको २६ वर्ष पूरा भएको छ । २०५० साल जेठ ३ गते आजकै दिन दासढुंगामा भएको जीप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो ।

रहस्यमय रहेको यो घटनाको वास्तविकता अझै बाहिर आउन सकेको छैन । दुर्घटनाका साक्षी रहेका जिप चालक अमर लामाको हत्या भएपछि यो घटना थप रहस्यमय बनेको छ । सत्तारुढ नेकपाले आफ्ना नेता भण्डारी र आश्रितको स्मृतिसभा गरिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जिप चालक अमर लामा किन मारिए भन्दै प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘तत्कालीन एमालेको ठहर थियो ‘षड्यन्त्र’ का मतियार हुन् अमर लामा, उनलाई सबै थाहा छ । तर ती ‘सुत्र’ भनिएका लामालाई गोलीले उडायो माओवादीले । एमाले–माओवादी एक भएपछि जरुरी छैन र यो छलफल कि ‘सत्य’ जो बाट थाहा लाग्थ्यो ति अमर लामा किन मारिए ?’

प्रवक्ता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत मदन भण्डारीको हत्याबारे प्रश्न सोधेका छन् । ‘ त्यो रेशमी पर्दा कहाँ छ कमरेड ? मदन भण्डारीका हत्यारा रेशमी पर्दा पछाडि लुकेका छन्, तिनलाई हामी सत्तामा पुगेपछि बाहिर ल्याउँछौँ’ एमालेले बनाएको छानबिन आयोगका तत्कालीन संयोजक केपि ओलीले प्रतिवेदन सार्वजनिक गर्दै यसै भन्नुभएको थियो । त्यो प्रतिवेदन यतिबेला कहाँ छ ?’

Logo