विश्वविद्यालयका पदाधिकारीका लागि नयाँ योग्यता र मापदण्ड सिफारिस

विश्वविद्यालयका पदाधिकारीका लागि नयाँ योग्यता र मापदण्ड सिफारिस


काठमाडौं,

ठूला विश्वविद्यालयको कुलपतिमा राष्ट्रपति र साना विश्वविद्यालयको उपकुलपति उपराष्ट्रपति हुने व्यवस्था गर्न सिफारिस भएको छ ।

शिक्षा मन्त्रालयले विश्वविद्यालय र उच्च शिक्षा प्रदायक स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्तिको मापदण्ड र आधार निर्माण सम्बन्धमा बनेको कार्यदलले कुलपति प्रधानमन्त्री हुने ब्यवस्था परिवर्तन गरी राष्ट्रपति र उपराष्ट्रपति राख्न सिफारिस गरेको हो ।

कार्यदलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाएको छ । मंगलबार बुझाएको प्रतिवेदनमा साना विश्वविद्यालयसहित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपराष्ट्रपति कुलपति हुने व्यवस्था गर्न सिफारिस गरेको छ । सबै विश्वविद्यालयको समन्वयका लागि सहकुलपतिमा शिक्षामन्त्री नै हुनुपर्ने कार्यदलले सिफारिस गरेको छ ।

कार्यदलको सिफारिस कार्यान्वयन गर्न विश्वविद्यालयका ऐन तथा नियम संशोधन गर्नुपर्ने मन्त्रालयका अधिकारीको भनाई छ । प्रधानमन्त्री व्यस्त हुने र सबै विश्वविद्यालयलाई समय दिन कठिन हुने भएकाले कुलपतिमा राष्ट्रपति र उपराष्ट्रपति सिफारिस गरेको कार्यदलका एक सदस्यले बताए । शिक्षा मन्त्रालयका सहसचिव डा हरिप्रसाद लम्सालको संयोजकत्वमा मन्त्रालयले कार्यदल गठन गरेको थियो ।
नयाँ पत्रिकाबाट

Logo