प्रधानमन्त्री घर फर्किदा आजपनि आधा घण्टा हवाई सेवा बन्द हुने

प्रधानमन्त्री घर फर्किदा आजपनि आधा घण्टा हवाई सेवा बन्द हुने


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदैछन् । भियतनाम र कम्बोडियाको साताव्यापी भ्रमण सकाएर प्रधानमन्त्री ओलीसहितको टोली साँझ ७ बजेर ५ मिनेटमा काठमाडौं पुग्नेछन् । प्रधानमन्त्रीसहितको टोली नेपाल एयरलाइन्सको ‘एयरबस-३२०’ मार्फत नेपाल आउन लागेका हुन्।

बैसाख २६ मा नेपाल एयरलाइन्सको चार्टर्ड उडानमार्फत भियतनाम गएका प्रधामन्त्री सोमबार मात्रै भियतनामबाट कम्बोडिया पुगेका थिए। प्रधानमन्त्रीको स्वदेश फिर्तासँगै देशको हवाई क्षेत्र पनि प्रभावित हुनेछ । प्रधानमन्त्रको स्वदेश फिर्ता हुने समय भन्दा १५ मिनेट अगाडि नै सबै उडान तथा अवतरण बन्द हुने विमानस्थल कार्यालयले जनाएको छ।

प्रधानमन्त्री ओलीसहितको विमान अवतरणलाई लिएर ३० मिनेट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान तथा अवतरण पूर्णरुपमा ठप्प हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । प्रधानमन्त्री भ्रमणमा जानुअघि पनि ४५ मिनेट भन्दा बढी समय विमानस्थल बन्द गरिएको थियो ।

यसअघि भिभिआइपी उडान तथा अवतरणका क्रममा ४५ मिनेट विमानस्थल बन्द गरिँदै आएको भएपनि यात्रुको चाप तथा सेवालाई मध्यनजर गर्दै प्रधानमन्त्री भियतनाम जाँदा भने ३० मिनेट मात्रै सेवा ठप्प पार्ने जनाइएको थियो। तर ४५ मिनेट नै गरिएको थियो ।

Logo