निर्माण सम्पन्न हुन लागेको पुलमा मेयरले चलाए डोजर

निर्माण सम्पन्न हुन लागेको पुलमा मेयरले चलाए डोजर


भक्तपुर,

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ४ बालकोट र मध्यपुरथिमि नगरपालिका वडा नं. ४ शंखधरचोक जोड्ने हनुमन्ते खोलाको नयाँ पुल माथि मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदन सुन्दर श्रेष्ठले डोजर चलाएर भत्काईदिएपछि पुल निर्माण कार्य अलपत्र परेको छ ।

जिल्ला विकास समितिको मातहतमा रहेर ३ नं. प्रदेश भौतिक पूर्वाधार कार्यालय धुलिखेल अन्तर्गत स्थानीय सडक पुल सहयोग ईकाई ललितपुरको प्राबिधिक सहयोगमा कूल २ करोडको लागतमा २०७२ साल बैशाखदेखि भण्डारी थोटुङ्ग/श्यामबाबु जेबी कम्पनीले निर्माण सुरु गरेको यो पुल अन्तिम चरणको काम सम्पन्न गर्दैगर्दा नगर प्रमुख आफैले भत्काईदिएको हुन् ।

ढलान गर्न तयारी अबस्थामा राखेको डण्डी र बेसहरु डोजर लगाएर खोलामा खसालिएको छ । नगर प्रमुखले निर्माण कम्पनी, जिल्ला समन्वय समिति वा भौतिक पूर्वाधार कार्यालय कोहीसंग पनि समन्वय वा त्यसबारे जानकारी नगराई आफैले डोजर लगेर भत्काईदिदा पुल निर्माण कार्य नै अलपत्र परेको भण्डारी थोटुङ्ग/श्यामबाबु जेबी कम्पनीका संचालक गणेश कार्कीले बताए ।

“आज ढलानको तयारीमा थियौ, आजबाट पुल निर्माणको सबै काम सम्पन्न गरेर आगामी तीन सातामा यातायात संचालन गर्न सकिन्थ्यो तर मध्यपुरका मेयरले जंगली पारामा आफै आएर डोजर लगाएर सबै भत्काईदिएर गए ।” कार्कीले भने

निर्माण कम्पनीले केही गल्ती गरेको भए निर्माण रोक्न आदेश दिएको भएपनि काम रोकेर सहज तरिकाले काम गर्न दुबै पक्ष बसेर छलफल गर्न सकिनेमा छलफल, सहमति र सच्याउने बाटो नै बन्द गराएर डोजरले सोईलिङ्ग लगायत सबै भत्काएर खोलामा हालिदिएर गएको उनको गुनासो छ ।

निर्माण कम्पनीतर्फ कसैलाई पनि जानकारी नगराई एकतर्फी रुपमा मेयरले जबरजस्ती गरेको र यसबाट हुन आउने १५ लाखको क्षतिपूर्ती मेयरले नितिरेसम्म पुल निर्माणको बाँकी काम अगाडि नबढाउने उनले बताए ।
नेपाल समाचारपत्रबाट

Logo