भियतनाममा प्रधानमन्त्री ओलीलाई ‘गार्ड अफ अनर’ प्रदान

भियतनाममा प्रधानमन्त्री ओलीलाई ‘गार्ड अफ अनर’ प्रदान


काठमाडौं । भियतनामको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजकीय सम्मानसहित गार्ड अफ अनर प्रदान गरिएको छ। समकक्षी प्रधानमन्त्री न्याग्युन स्वान फुच गुइजुएन जुआन फुकले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका हुन्। प्रधानमन्त्री ओलीको सम्मानमा त्यहाँको सैनिक टुकडीले गार्ड अफ अनर प्रदान गरेको हो ।

यसैबीच दुई समकक्षीबीच भेटवार्ता भएको छ। भेटका क्रममा दुई देशबीचको सम्बन्धका साथै साझेदारीको विषयमा छलफल भएको बताइएको छ। छलफलपछि दुई देशबीच कुटनीतिक तथा विशेषा राहदानी बहाकहरुलाई भिसा छुटसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

त्यस्तै दुई देशबीच द्विपक्षीय परामर्श संयन्त्र गठनसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ। यी दुवै सहमतिमा दुई देशका परराष्ट्र मन्त्रीले हस्ताक्षर गरेका हुन्। त्यस्तै दुई देशबीच व्यापार तथा लगानी साझेदारी सम्बन्धी फ्रेमवर्कसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्न छलफललाई अगाडि बढाउन लेटर अफ इन्टेन्ट (आसयपत्र) मा दुई देशका उद्योग मन्त्रालयका अधिकारीहरुले हस्ताक्षर गरेका छन्।

सहमति पत्रमा हस्ताक्षरसँगै दुबै देशका प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन्। दुई देशबीच १९७५ मा कुटनीतिक सम्बन्ध स्थापनापछि पहिलो पटक नेपालका प्रधानमन्त्री भियतनामको राजकीय भ्रमणमा गएका हुन्। भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले भियतनामका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन्।

दुबै देशबीच जनसम्बन्ध बढाउन क्रियाकलाप गर्ने तथा २०२० मा कुटनीतिक सम्बन्ध स्थापनाको ४५ वर्षगाँठ मनाउने विषयमा छलफल भएको छ। त्यस्तै छलफलका क्रममा नेपाल कम्युनिस्ट पार्टी र भियतनाम कम्युनिस्ट पार्टीबीच आगामी दिनमा सम्बन्धलाई प्रगाढ बढाउँदै लैजाने सहमति भएको भियतनाम न्यूजले जनाएको छ।

त्यस्तै भियतनामका प्रधानमन्त्रीले त्यहाँका लगानीकर्ताहरु नेपालको उर्जा, पूर्वाधार तथा दुरसञ्चारमा लगानी गर्न चाहेको भन्दै त्यसका लागि सहयोग गर्न प्रधानमन्त्री ओलीसँग आग्रह गरेका थिए। प्रधानमन्त्री ओलीले नेपाली उत्पादनलाई भियतनाममा प्रवेश गराउन आग्रह गरेका थिए।

Logo