स्वादबिनाको ‘दाल भात तरकारी’

स्वादबिनाको ‘दाल भात तरकारी’


रंगमञ्च, स्टेज कार्यक्रम तथा टेलिसिरियलहरुमा चर्चित जोडी हुन् हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ ‘मह’ । उनै महजोडीको चलचित्र ‘दाल भात तरकारी’ हाल सिनेमा हलमा प्रदर्शनरत छ ।

चलचित्र ‘दाल भात तरकारी’ ले कमेडी शैलीमा विदेश मोहलाई देखाउन खोजेको छ । नेपालमा बेरोजगार युवा–युवतीको संख्या दिनानुदिन बढ्दै गएको छ । आफ्नै देशमा रोजगारीको अवसर नभएर दिनहूँ हजारौं मानिसहरु विदेशिन बाध्य हुन्छन् । कोही रहरले त कोही बाध्यताले विदेशिने गर्दछन् । कतिपयलाई त विदेशिनु फेसन रुपमा लिन थालेका छन् ।

चलचित्रको कथा सुरु हुन्छ रामहरी (हरिवंश आचार्य) र उर्मिला (निरुता सिंह) को झगडाबाट । उनीहरु सानो कुरामा पनि झगडा र्गछन् । अमेरिका जाने मोहको कारण रामहरी बारम्बार डिभी भर्दै आएका छन्, तर उनलाई डिभी पर्दैन् ।

डिभी नपरेर हैरान रामहरी गायक स्वामी (शिशिर वाङदेल) को शरणमा जान्छन् । अमेरिकी सपना बुनेका रामहरी अमेरिका जानको लागि चर्को ब्याजमा घर धितो राखेर पैसा निकाल्छन् । गायक स्वामी उनीहरुलाई अमेरिका पठाइदिने बहानामा उनीहरुसँग पैसा उठाएर फरार हुन्छन् । त्यसपछि कथाले कुन मोड लिन्छ ? के उनीहरुले भिसा पाँउलान त ? चलचित्रको कथा यहि वरिपरि घुमेको छ ।

यो चलचित्र हेरिरहदा दर्शकलाई नायिका निरुता सिंहको अभिनय अलि अस्वभाविक लाग्न सक्छ । उनको अभिनय ‘न्याचुरल’ भन्दा पनि ‘बनावटी’ लाग्छ । ‘लाउड’ अभिनय उनलाई अलिकति पनि सुट गरेको छैन् । निरुताको लाउड अभिनयले दर्शकहरुलाई मनोरञ्जन भन्दा पनि झर्को लाग्नु स्वाभाविक नै हो ।

जीउ सन्चै (वर्षा राउत) चलचित्रमा ‘सो पिस’ को रुपमा मात्र देखिएकी छिन् । अर्थात चलचित्रमा वर्षा गेष्ट रोलमा देखिएकी छन् । चलचित्र हेरिरहदा दर्शकले वर्षाले पनि यो चलचित्रमा अभिनय गरेकी छिन् भनेर भुल्न बाध्य हुन्छन् । विदेश पठाइदिने बहानामा गायक स्वामीले वर्षाको पैसा पनि खाएर फरार हुन्छन् । चलचित्रमा पुष्प खड्का (राओ) रामहरी र उर्मिलाको छोराको हुन्छन् । आँचल शर्मा भने पुष्प खड्काको प्रेमिकाको रुपमा पर्दामा देखिएकी छिन् ।

‘दाल भात तरकारी’ ले नेपालीहरु कुन मनोदशामा अघि बढिरहेका छन् भन्ने विषयलाई मुख्य कथा वस्तुको रुपमा प्रस्तुत गरेको छ । यस चलचित्रले सन्देश भन्दा पनि मनोरञ्जनलाई बढी प्राथमिकता दिएका पाइन्छ ।

गायक स्वामीले झैँ हाम्रो समाजमा विदेश पठाइदिने बहानामा पैसा लिएर फरार हुने. दलालहरु थुप्रै भेटिन्छन् । चलचित्रमा उनको भूमिका नकारात्मक भएता पनि स्वामी बाबाको भूमिकाले मानिसलाई सचेत बनाउन खोजेका छ । साथै समाजमा रहेका यस्ता स्वामी बाबाको भेष पहिरिएका ढोंगी बाबाहरुको पर्दा फास गर्न जरुरी छ ।

हरिवंशको अभिनय तारिफ योग्य नै छ । राजारामले राम्रो अभिनय गरेका छन् । पुष्प र आँचलको अभिनय उनीहरुको विगतका चलचित्रको जस्तै छ ।

चलचित्रको स्क्रिप्ट राम्रोसँग तयार पारिएको छ । तर, निर्माण टिमले प्रस्तुती गर्ने शैलीमा भने चुकेका छन् । चलचित्र कहीँ ‘लाउड’ सुनिन्छ, त कतै ‘स्लो’ । कमेडी भनिएको चलचित्रमा समावेश कलाकारको लाउड अभिनयले गर्दा दर्शकलाई मनोरञ्जनको सट्टामा झर्को लाग्न सक्छ ।

एउटा फुल प्याकेज चलचित्र भन्दा पनि ‘दाल भात तरकारी’ हेरिरहदा विगतको मह जोडीहरुका हाँस्य टेलिसियलका केही टुक्राहरु हेरिरहेको भान हुन्छ । यस चलचित्रले दर्शकलाई जबरजस्ती हँसाउन खोजेको छ । दर्शकले महजोडीको चलचित्रबाट जुन अपेक्षा राख्दै आएका छन्, यस चलचित्रमा महजोडी उनीहरुको अपेक्षा पुरा गर्नबाट केही हदसम्म चुकेका छन् ।

साथै रामहरी र उर्मिलाको घर झगडाले कथालाई अनावश्यक लम्बाएको छ ।

Logo