तातोपानी नाका चलाउन अरनिको राजमार्ग दुरुस्त बनाइँदै

तातोपानी नाका चलाउन अरनिको राजमार्ग दुरुस्त बनाइँदै


सिन्धुपाल्चोक

उत्तरी व्यापारिक नाका तातोपानी भएर चीन जोड्ने अरनिको राजमार्ग मर्मत सम्भारमार्फत दुरुस्त बनाइँदै छ । बिनासकारी भूकम्पपछि चार वर्षदेखि बन्द नाका छिट्टै सञ्चालनमा ल्याउने तयारी थालिएपछि अत्यावश्यक पूर्वाधारका रुपमा राजमार्ग सुधार तथा मर्मत सम्भारलाई द्रुततर बनाइएको हो ।

एक सय १४ किलोमिटर लामो राजमार्गको सबैभन्दा बढी क्षतिग्रस्त बन्देउ–लिपिङ खण्ड मर्मतको काम तीव्र रुपमा अघि बढिरहेको छ । झन्डै ४४ किलोमिटर दूरीको यो खण्डमा चीन र नेपाल सरकारले दुईतिरबाट काम गरिरहेका छन् । बन्देउदेखि बसेरी क्षेत्रसम्म ३५ किमि दूरीमा सडक विभागमार्फत डिभिजन सडक कार्यालय चरिकोट र त्यहाँबाट लिपिङसम्म नौ किमि खण्डमा चीन सरकारले राजमार्ग सुधारको काम गरिरहेका हुन् ।

‘नाका सञ्चालनलाई ध्यानमा राखेर राजमार्ग सुधार र मर्मत कार्यलाई तीव्र बनाउँदै लगेका छौं,’ प्रमुख डिभिजन इन्जिनियर धर्मेन्द्र झाले भने । नाका सञ्चालनमा आउनु अघि नै राजमार्ग दुरुस्त बनाउने लक्ष्यसहित काम भइरहेको उनले बताए । २०७२ वैशाख १२ गतेको भूकम्प र २०७३ असारमा निम्तिएको भोटेकोसी बाढीले लिपिङ–तातोपानी क्षेत्रको सडक क्षतिग्रस्त बनाएको थियो भने त्यसयता निरन्तर बर्खे बाढी, पहिरोले बन्देउसम्मको सडक खण्डहरमा परिणत गराएको थियो ।

नाका बन्द हुँदा ओझेलमा परेको राजमार्ग मर्मत, सम्भार नहुँदा झन्–झन् जिर्ण बन्दै गएको थियो । आफ्नो क्षेत्रमा चीनले सडक मर्मत लगभग सकेको छ भने डिभिजन सडकले पनि राजमार्ग सुधारलाई अन्तिमतिर पु¥याएको छ । ‘जेठभित्रै राजमार्गलाई दुरुस्त बनाउने प्रयासमा छौं,’ प्रमुख इन्जिनियर झाले भने ।

नागरिकबाट

Logo