शान्ति प्रक्रियामा नआए विप्लव समूहको अस्तित्व समाप्त हुन्छ- प्रधानमन्त्री

शान्ति प्रक्रियामा नआए विप्लव समूहको अस्तित्व समाप्त हुन्छ- प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव समूहलाई शान्ति प्रक्रियामा आउन आग्रह गर्दै नआए अस्तित्व नै समाप्त हुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठकलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले पृथकतावादको अन्त्य गरेसँगै विप्लव समूहको नाममा हुने क्रियाकलाप पनि नियन्त्रणमा लागेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले हतियार बुझाएर हिंसा नत्यागे अप्ठ्यारो ढंगले समूह नै समाप्त हुने अवस्थामा पुग्ने चेतावनी दिए । उनले भने, “पृथकतावाद अन्त्य गर्यौं । विप्लव समूहको नाममा मच्चाइएको त्रासलाई पनि नियन्त्रण गर्छौं । उनीहरुले हिंसाको बाटो छोड्नु, हतियार बुझाउनु, सकेसम्म छिटो शान्ति प्रक्रियामा आउनु हितकर हुनेछ । त्यसो नगरे असहज अवस्थाबाट अप्ठ्यारो ढंगले समाप्त हुने अवस्थामा पुग्छन् ।”

विप्लव समूहमाथि सरकारले लगाएको प्रतिबन्धलाई लिएर पार्टी भित्रै पनि विरोध भएको स्मरण गर्दै उनले उनीहरुको क्रियाकलाप गैरकानुनी र असंवैधानिक भएकाले सरकारले प्रतिबन्ध लगाएको स्पष्ट पारे । उनले भने, “कतिपयले विप्लव समूहमाथिको प्रतिबन्धलाई उचित भएन भनेर विरोध गरे । उनीहरुका क्रियाकलाप अवैध, हानिकारक, असंवैधानिक गैरकानुनी भएकाले जायज हुन सक्दैन । त्यसकारण त्यस्ता आतंककारी गतिविधिमा प्रतिबन्ध लगाइएको हो । त्यसलाई नबुझेर प्रतिबन्ध लगाउनु हुँदैन भनियो । अनि के बम पड्काउ भन्ने ? मान्छे मार्न इजाजत छ भन्ने ? मान्छेलाई तर्साएर पैसा जतिपनि असुल्न इजाजत छ भन्ने ?”

Skip This
Logo