नीति चार बोरा, कार्यक्रम एक अम्खोरा : कांग्रेस प्रवक्ता शर्मा

नीति चार बोरा, कार्यक्रम एक अम्खोरा : कांग्रेस प्रवक्ता शर्मा


काठमाडौं

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई समर्थन गर्न नसकिने बताएको छ ।

राष्ट्रपतिद्वारा सरकारको आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरिएका नीति तथा कार्यक्रमप्रति विमति राखेको छ । सरकारको नीति तथा कार्यक्रम प्रति प्रवक्ता विश्व प्रकाश शर्माले भन्नुभयो, ‘नीति चार बोरा आएको छ । तर कार्यक्रम एक अम्खोरा जति छ ।’

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा मिथ्यांक प्रस्तुत गरेको आरोप लगाउँदै प्रवक्ता शर्माले भन्नुभयो, ‘यो सरकारले हिंसा अन्त्य गरेको हो ? के आधारमा भन्यो ? बरु यो सरकारको समयमा बम पड्केर मान्छे मरेका छन् । दलमाथि प्रतिबन्ध लागेको छ । बलात्कार र हिंसाका घटना बढेको छ । भ्रष्टाचार मौलाएको छ ।’

सामाजिक सुरक्षा कोषका लागि तामझामका साथ सरकारले सुरुवात गरेको कार्यक्रमले कोषमा कुनै प्रगति नभएको बताउँदै प्रवक्ता शर्माले रोजगारदाताहरूको सहभागिता न्यून रहेको बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम विफल भएको बताउँदै उहाँले भन्नुभयो, ‘छुट्याइएको ४ अर्बमा एक प्रतिशत पनि खर्च भएको छैन । तर प्रगति भएको छ भनियो ।’

चुरे मार्गलाई अन्य ठाँउको बाटो गाँसेर मदन भण्डारी लोकमार्ग नामाकरण गरेर बनाउने भनिए पनि कुनै प्रगति नभएको बताउनुभयो । राष्ट्रपतिले सदनमा प्रस्तुत गरेको ‘मेरो सरकार’ शब्दावली प्रति कडा आपत्ति जनाउँदै शर्माले भन्नुभयो, ‘संविधानको कुन धारामा मेरो सरकार भन्ने छ ? यो गम्भीर कुरा हो ।’

Skip This
Logo