गर्मीसँगै बिजुलीको माग ह्वात्तै बढ्यो

गर्मीसँगै बिजुलीको माग ह्वात्तै बढ्यो


काठमाडौं

गर्मी बढेसँगै बिजुलीको माग पनि ह्वात्तै बढेको छ । गर्मी बढेसँगै बिजुलीको माग बढेको नेपाल विद्युत् प्राधिकरण प्रणाली सञ्चालन विभाग प्रमुख सुरेश भट्टराईले बताए । ‘दुई दिनयता बिजुलीको माग बढेको छ,’ उनले भने, ‘हाल बिजुलीको माग बढेर एक हजार दुई सय ५० मेगावाट पुगेको छ ।’

आगामी दिनमा अझै गर्मी बढ्ने र बिजुली माग पनि सोही अनुसार बढ्ने अनुमान प्राधिकरणले गरेको छ । ‘सुक्या समयमा बिजुलीको माग ह्वात्तै बढ्ने गरेको छ,’ भट्टराईले भने, ‘जेठको अन्त्यमा बिजुलीको माग अझै बढ्ने अनुमान गरिएको छ ।’ त्यतिबेला बिजुलीको माग बढेर एक हजार पाँच सय ५० मेगावाटसम्म पुग्ने अनुमान प्राधिकरणले गरेको छ ।

बिजुलीको माग बढे पनि लोडसेडिङ गर्नुु नपरेको प्राधिकरणको भनाइ छ । ‘कुनै पनि ठाउँमा अहिले लोडसेडिङ छैन,’ उनले भने, ‘आगामी दिनमा पनि हुन दिने छैनौं ।’

आवश्यकता अनुसार कुलेखानी पहिलो र दोस्रो गरी ९२ मेगावाट बिजुली उत्पादन गर्दै जाने योजना प्राधिकरणको छ । त्यसले पनि नपुगे हेटौंडामा रहेको १४ मेगावाटको डिजेल प्लान्ट र विराटनगरमा रहेको ३९ मेगावाटको मल्टिफ्युल प्लान्ट पनि सञ्चालन गर्ने प्राधिकरणको योजना छ । गर्मीमा पनि लोडसेडिङ हुन नदिन आन्तरिक व्यवस्थापनको काम भइरहेको प्राधिकरणको भनाइ छ।
नागरिकबाट

Logo