हुम्लाका २ सय २४ घरधुरी आयोडिन नुनबाट वञ्चित

हुम्लाका २ सय २४ घरधुरी आयोडिन नुनबाट वञ्चित


हुम्ला

नेपालमा आयोडिनयुक्त नुन अभियान सुरु भएको दुई दशक बितिसक्दा पनि हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीवासी तिब्बती ढिकेनुनमा निर्भर छन् ।

सदरमुकाम सिमकोटबाट चारदेखि पाँच दिनको पैदल दूरीमा पर्ने लिमीका तिल, हल्जी र जाँग नेपालका अन्य बस्ती भन्दा तिब्बतसँग नजिक छन् । यी बस्तीमा तिब्बती जीवनशैलीको प्रभाव बढी छ । ‘आयोडिन नुन खानुपर्छ भन्ने सुनेको भए पनि अहिलेसम्म कस्तो हुन्छ, देखेको छैन,’ तिल गाउँकी बासिन्दा सोनामपुटी तामाङले भनिन् । साल्ट ट्रेडिङ कर्पोरेसनले अनुदानमा आयोडिन नुन वितरण गर्दै आएको जानकारी पाए पनि अहिलेसम्म नखाएको उनको भनाइ छ ।

नाम्खा गाउँपालिका–६ का कन्जोक लोप्साङ तामाङका अनुसार लिमीका तीनवटै गाउँ हल्जी, जाङ र तिलमा तिब्बतकै ढिकेनुन प्रचलनमा छ । ‘हामी त बाजेकै पालादेखि ढिकेनुन नै खान्छौँ,’ उनले भने । सरकारले साल्ट ट्रेडिङमार्फत आयोडिनयुक्त नुन प्रतिकिलो नौ रुपैयाँमा वितरण गरिरहेको छ । तर उनीहरू २० रुपैयाँ प्रतिकिलोको ढिकेनुन खान बाध्य छन् । यस्तै, हाल चंखेली गाउँपालिका–६ नेप्काका बासिन्दाको पनि छ ।

उत्तरी नाम्खा गाउँपालिका ६ लिमी हल्जीका ९६ घरधुरी, तिल गाउँका ३० घरधुरी, जाङ गाउँका ४० घरधुरी र चंखेली गाउँपालिका ६ नेप्का गाउँका ५८ घरधुरी ढिकेनुन खान्छन् ।
नयाँ पत्रिकाबाट

Logo