नेपालीको खर्च गर्ने क्षमता बढ्दै

नेपालीको खर्च गर्ने क्षमता बढ्दै


काठमाडौं

चालु आर्थिक वर्षमा नेपालीको क्रयशक्ति बढेर एक लाख ५४ हजार नौ सय २४ रुपैयाँ पुग्ने देखिएको छ । गएको आवको तुलनामा यस आवमा प्रतिव्यक्ति खर्चयोग्य आय (जीएनडीआई) २० हजार दुई सय ८३ रुपैयाँले बढेको छ । गएको आवमा प्रचलित मूल्यमा प्रतिव्यक्ति खर्चयोग्य आय एक लाख ३४ हजार ६ सय ४१ मात्रै थियो ।

विगत ५ वर्षको यो अवधिमा भने नेपालीको खर्च गर्न सक्ने क्षमता ५२ हजार एक सय रुपैयाँले बढेको छ । आर्थिक वर्ष ०७१/७२ मा एक जना नेपालीले वार्षिक औसतमा एक लाख दुई हजार आठ सय २३ रुपैयाँमा मात्र खर्च गर्न सक्थे । चालु आव ०७५/७६ मा यो आय बढेर एक लाख ५४ हजार नौ सय २४ पुग्ने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको छ।

चाल आवको कुल राष्ट्रिय खर्चयोग्य आय अनुसार गणना गरेको प्रतिव्यक्ति आयले यस्तो देखाएको हो । गएको आवको तुलनामा यस आवमा जीएनडीआई १५ प्रतिशतभन्दा बढीले बढेको छ ।प्रतिव्यक्ति क्रययोग्य आय बढेसँगै कुल खर्चयोग्य आय पनि वृद्धि भएको छ । नेपालीको यस्तो आय बढेर ४५ खर्ब ६९ अर्ब ४५ करोड पुग्ने अनुमान गरिएको छ । सो आय गएको आवको भन्दा ६ खर्ब ५१ अर्ब १३ करोडले बढेको छ ।

देशमा स्थायी सरकारले आफ्ना योजनासहित कार्यक्रम कार्यान्वयनमा लगेपछि नेपाली प्रतिव्यक्ति आय बढ्न गई खर्च गर्न सक्ने क्षमतामा समेत बढोत्तरी भएको केन्द्रीय तथ्यांक विभागमा महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए। ‘रेमिट्यान्समा भएको वृद्धि, बर्सेनि बढ्दै गएको बजेट आकार, उद्योग तथा सेवा क्षेत्रको उत्पादनमा भएको प्रगतिले कुल खर्चयोग्य आयमा वृद्धि भएको हो,’ उनले भने ।
नागरिकबाट

Logo