राजपालाई समर्थन फिर्ता लिने निर्णयमा पुर्नविचार गर्न प्रधानमन्त्रीको आग्रह

राजपालाई समर्थन फिर्ता लिने निर्णयमा पुर्नविचार गर्न प्रधानमन्त्रीको आग्रह


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै राजनीतिक दलहरुलाई मिलेर काम गर्न आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले मजदुरहरुको एकताबाट पाठ सिकेर सबै राजनीतिक दलहरुले मिलेर काम गर्नुपर्ने स्पष्ट पारे । १ सय ३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले एक वर्षमा इतिहासमा कहिल्यै नगरेको काम गरेको दावी गरे ।

प्रधानमन्त्री ओलीले सरकारले राम्रा काम गर्दै गईरहेका बेला राष्ट्रिय जनता पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएकोमा आफूलाई अचम्म लागेको प्रतिक्रिया दिए । मञ्चमा सँगै रहेका राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोलाई सरकारले राम्रो काम गरिरहेको उल्लेख गर्दै समर्थन फिर्ता लिने निर्णयमा पुनर्विचार गर्न आग्रह गरे ।

राम्रो काम गरिरहेका बेला खुसी हुनुपर्नेमा राष्ट्रिय जनता पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएकोमा आफूलाई अचम्म लागेको प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले सरकारको आलोचना गर्दा जनताले के भन्छन ? भनि विचार गर्न पनि आलोचकहरुलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले नेपालको मजदुर आन्दोलनलाई सफलताको उचाईमा पुर्‍याइएको दावी गरे । उनले वर्तमान संविधानले मजदुर वर्गीय चिन्तनलाई आधार मानेको स्मरण गराए । प्रधानमन्त्री ओलीले बेराजगारलाई सय दिन तलवभत्ता दिने सरकारको निर्णय मजदुर वर्गका लागि अकल्पनीय उपलब्ध भएको दाबी गरे ।

प्रधानमन्त्री ओलीले मजदुरहरुको पक्षमा सरकारले गरेको निर्णय वर्णन गरिरहन नपर्ने बताए । उनले सरकार, व्यवसायी र मजदुरहरु एकतावद्ध भएर अघि बढने प्रतिवद्धता व्यक्त गरे ।

Logo