वडा कार्यालयले नागरिकता सिफारिस नगर्दा युवकले गरे आत्महत्या

वडा कार्यालयले नागरिकता सिफारिस नगर्दा युवकले गरे आत्महत्या


विराटनगर । वडा कार्यालयले नागरिकता सिफारिस गर्न नमान्दा एक युवकले आत्महत्या गरेका छन् । सुनसरीको दुहवी नगरपालिका–३ का २२ वर्षीय हरि मण्डलले आत्महत्या गरेका हुन् ।

म्याजिक चप्पल उद्योगमा कार्यरत मण्डल नागरिकताको सिफारिस माग्दै वडा समितिको कार्यालयमा पुगेका थिए । नागरिकता सिफारिसको लागि पटक पटक वडा कार्यालयमा पुग्दा पनि वडाध्यक्ष माधवबहादुर भण्डारीले कागजात नभएको भन्दै फर्काईदिएका थिए ।

वडाअध्यक्ष भण्डारीले तिम्रो नागरिकता हुँदैन भन्दै कार्यालयमा नै बेइज्जत गरेपछि छोराले आत्महत्या गरेको आमा गीतादेवी मण्डलले बताइन् । तीन पुस्तादेखि बुवा ध्रुव मण्डलसहित दुहवीमा बस्दै आएका मण्डल परिवारका जेठा छोरा प्रमोदले भने २०६३ सालको टोलीमै जन्मसिद्धको नागरिकता बनाएका थिए ।

दाजुको जन्मसिद्ध नागरिकता भएपछि हरिले नागरिकता खुलेको पहिलो दिन २०७५ चैत १८ मै वडा कार्यालय पुगेर वडा अध्यक्षलाई जन्मदर्ता र आफूले अध्ययन गरेको विद्यालयको सर्टिफिकेटत सहित नागरिकता सिफारिस गरिदिन आग्रह गरेका थिए। कागजात नपुगेको भन्दै उनलाई घर फर्काईयो । त्यसपछि उनी वैशाख ९ गते पुनः आमा गीतादेवीसँगै वडा कार्यालय पुगे ।

वडाध्यक्षले ‘तिम्रो सिफारिस हुँदैन’ भन्दै हप्कीदप्की गरेपछि उनी आमालाई वडा समितिको कार्यालयमै छाडेर घर गए । त्यसलगत्तै उनले घरमा पासो लगाएर आत्महत्या गरेको गीतादेवीले बताइन्। आर्थिक अवस्था कमजोर भएकाले उनले चप्पल उद्योगमा १३ वर्षकै उमेरदेखि काम गर्दै आएका थिए। पछिल्लोपटक उद्योगले समेत बैंकमा खाता खोल्न नागरिकता माग्न थालेपछि उनी नागरिकता सिफारिसका लागि पटकपटक वडा कार्यालयमा पुगेका थिए।

वडाअध्यक्ष भण्डारीले सिफारिस नगरिदिएका कारण आत्महत्या नगरेको दाबी गरे । ‘नागरिकता बनाउन आवश्यक कागजपत्र नभएपछि सिफारिस नदिइएको हो,’ उनले भने, ‘यस्ता सिफारिस नपाउँदा आत्महत्या कोही कसैले गर्नै सक्दैनन्।’

Logo