चौर मासेर सटर: काठमाडौँको खुल्लामञ्च, हेटौडाको हुप्रचौर

चौर मासेर सटर: काठमाडौँको खुल्लामञ्च, हेटौडाको हुप्रचौर


केन्द्रिय राजधानी काठमाडौंको खुल्लामञ्चमा जथाभावी सटरहरु बनाएपछि महानगरपालिकाले आज डोजर चलाएर भत्कायो । यही बेला प्रदेश नम्वर ३ को अस्थायी राजधानी हेटौडाकै एक मात्र खुल्ला चौर हुप्रचौरमा पनि सटर र प्याराफिट बनाउने प्रक्रिया अघि बढेको पाइएको छ ।

व्यवसायीक सटर र प्याराफिट निर्माणका लागि हेटौडा महानगरपालिकाले बोलपत्र समेत आव्हान गरिसकेको छ । स्थानीयले भने एक मात्र खुल्ला चौरमा व्यवसायिक प्रयोजनका लागि सटरहरु बनाउन नदिने भन्दै विरोध जनाएका छन् । हेटौडा महानगरपालिकालाई व्यवसायिक संरचना नबनाउन पटक पटक आग्रह गर्दा पनि अटेर गरेपछि स्थानीयले शनिवार चौरमै कालो झण्डा गाडेका छन् ।

कालो झण्डा गाड्न हुप्रचौर सरोकार समितिकाको नेतृत्वमा २५ वटा टोल सुधार समितिका ६ सय भन्दा बढी स्थानीय चौरमा पुगेका थिए। उनीहरुले अव्यवस्थित ढंगले निर्माण गरिएका भौतिक संरचनाहरु पनि भत्काएका छन् ।

नागरिक अगुवा राजन मैनालीले हुप्रचौरलाई खुल्ला मैदानकै रुपमा राख्नुपर्ने भन्दै कुनै पनि भौतिक संरचना निर्माण गर्न नहुने बताए । आफूहरु लामो समयदेखि हुप्रचौरको संरक्षणमा लागेको भन्दै मैनालीले भने, “हामीले विरोध गर्दा गर्दै पनि उप महानगरपालिकाले जवरजस्ती पेलेर अघि बढ्यो ।” उनले आसपासका ठाउँहरुमा विभिन्न भौतिक संरचनाहरु बनाएर हुप्रचौर साँघुरो बन्दै गएको भन्दै कुनै हालतमा त्यहाँ सटर र प्याराफिट बनाउन नदिने बताए ।

कार्यक्रममा हुप्रचौर सरोकार समितिको अध्यक्ष दिपक खड्का, राजनितिज्ञ सिताराम बर्ताैला र हरिप्रसाद पौडेल, नागरिक अगुवा राजन मैनाली, नगर समन्वय समितिका प्रतिनिधि ज्ञानेन्द्र देबकोटा, टोल बिकास सँस्थाहरूको तर्फबाट सिर्जना पौडेल, बुद्धिजिबि विशाल बिडारी जिल्ला फुटबल सँघको सदस्य तथा समाजसेवी युवा लवराज ठकुरी लगायत सहभागि थिए ।

Logo