राष्ट्रपति भण्डारीको राजकीय चीन भ्रमण, यस्तो छ कार्यतालिका

राष्ट्रपति भण्डारीको राजकीय चीन भ्रमण, यस्तो छ कार्यतालिका


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी साताब्यापी चीन भ्रमणको कार्यक्रम सार्वजनिक भएको छ ।चिनियाँ समकक्षी सी जिन पिङको निमन्त्रणामा राष्ट्रपति भण्डारी वैशाख ११ गते चीनको राजकीय भ्रमणमा जान लागेकी हुन् ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले बेइजिङमा दोस्रो पटक आयोजना हुन लागेको बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन सम्मेलनलाई सम्बोधन गर्नेछिन् ।

भ्रमणका क्रममा दुवै देशका राष्ट्रपतिबीच उच्चस्तरीय वार्ता हुनेछ । वार्तापछि केही सम्झौतामा हस्ताक्षर हुनेछ । राष्ट्रपति भण्डारी अन्तर्राष्ट्रिय बागवानी सम्मेलनमा सहभागी हुने र नेपाली स्टलहरुको अवलोकन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसक्रममा बेइजिङमा आयोजना हुने नेपाल र चीनका व्यापारिक समुदायको संयुक्त बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारी शान्जी प्रान्तको राजधानी जियानको भ्रमण गर्नेछिन् । त्यसपछि ल्हासा हुँदै स्वदेश फर्किने छन् । राष्ट्रपतिसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल पनि भ्रमणमा सहभागी हुनेछन् ।

Logo