१५ सय मेट्रिक टन जडीबुटी थन्कियो

१५ सय मेट्रिक टन जडीबुटी थन्कियो


नेपालगन्ज

भारतले क्वारेन्टाइन सम्बन्धी नीति लागू गरी जारी गरेको जडीबुटीको सूचीमा २६ वटाको मात्रै नाम उल्लेख गरेपछि नेपालगन्जमा ठूलो परिमाणको जडीबुटी थन्किएको छ । नेपालगन्ज नाकाबाट यसअघि ८० किसिमको जडीबुटी भारत निकासी हुँदै आएको थियो ।

भारतको नयाँ नीतिका कारण नेपालगन्जबाट निकासी हुँदै आएका पखानवेद, कुरिल्लो (सतावर) अमला, पदमचाल, चिराइतो, अमलवेद, अतिस, कालादाना र सिकाकाई लगायत जडीबुटीको निकासी ठप्प भएको हो । गत मंसिरबाट निकासीमा समस्या आउन थाले पनि अहिले सबै जडीबुटीमा भारतले रोक लगाएको जडीबुटी व्यवसायीले बताएका छन् ।

नेपालबाट निकासी हुने सबै प्रकारका जडीबुटी भारतको ‘बिरुवा क्वारेन्टाइन सम्बन्धी आदेश २००३’ को अनुसूची ७ मा सूचीकृत छैनन् । जडीबुटीको नाम मिले पनि वैज्ञानिक नाम फरक भएकाले निकासीमा समस्या आएको व्यवसायीको भनाइ छ । उक्त समस्या समाधानका लागि नेपाल सरकारको पहलमा भारतले अनुसूची ७ मा सबै जडीबुटीलाई समावेश गर्न लगाउनुपर्ने व्यवसायीको माग छ ।

समस्या समाधानका लागि जडीबुटी व्यवसायी संघले कृषि तथा वन मन्त्री, कृषी र वन सचिव लगायत उच्च तहका अधिकारीको पनि ध्यानाकर्षण गराइसकेको छ । ‘जसलाई भेटे पनि निकासीमा देखिएको समस्या छिट्टै हल हुने आश्वासन दिनुहुन्छ, पछिल्लोपटक आश्वासन दिएको पनि चार महिना बितिसकेको छ,’ व्यवसायी टंकप्रसाद शर्माले भने ‘समस्या समाधान हुन नसक्दा करिब एक हजार पाँच सय मेट्रिक टन जडीबुटी नेपालगन्जमा र देशैभर करिब १० हजार मेट्रिक टन जडीबुटी रोकिएको हाम्रो अनुमान छ ।’
नागरिकबाट

Logo