प्रमुख निर्वाचन आयुक्तको सुनुवाइ आज, न्यायाधीशको भोलि

प्रमुख निर्वाचन आयुक्तको सुनुवाइ आज, न्यायाधीशको भोलि


काठमाडौँ

निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको सुनुवाइ आज बुधबार हुने भएको छ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशको सुनुवाइ भोलि बिहीबार हुनेछ ।

संवैधानिक परिषद्को चैत्र ११ गते बसेको बैठकले थपलिया र समावेशी आयोगको सदस्यका लागि विष्णुमाया ओझाको नाम प्रस्ताव गरेको थियो । त्यसको केही दिनपछि परिषद्ले नै न्यायाधीशका लागि नाम प्रस्ताव गरेको थियो । ओझाको सुनुवाइ पनि बुधबार नै हुनेछ ।

संसदीय सुनुवाइ समितिको मंगलबार बसेको बैठकले सुनुवाइ सम्बन्धी कार्यतालिका बनाएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले बताउनुभयो । मंगलबारको बैठकमा उजुरी खोलेर संसदीय सुनुवाइ समितिका सदस्यलाई वितरण गरिएको थियो ।

थपलिया, ओझा र प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिनेहरुलाई बुधबार ११ बजे बोलाइएको छ र २ बजे बस्ने बैठकले सुनुवाइ गर्नेछ । प्रस्तावित न्यायाधीशको सुनुवाइ बिहीबार दिउँसो २ बजे हुने कार्यतालिका छ । थपलियाविरुद्ध ६ र प्रस्तावित न्यायाधीशको सिफारिस प्रक्रिया र व्यक्तिविरुद्ध ५ उजुरी परेका छन् ।
नेपाल समाचारपत्रबाट

Logo