नेपाल – भारत इनर्जी एक्सचेन्ज मार्केट सम्झौता : बिजुली किनबेच अनलाइनबाट

नेपाल – भारत इनर्जी एक्सचेन्ज मार्केट सम्झौता : बिजुली किनबेच अनलाइनबाट


काठमाडौं

नेपालले भारतको ऊर्जा बजारमा बिजुली बेच्न र किन्न पाउने भएको छ । दुई देशबीच अनलाइन प्रणाली मार्फत ऊर्जा ‘एक्सचेन्ज मार्केट’ (सट्टा बजार) मा किनबेच सम्बन्धी सम्झौता हुन लागेको हो ।

विद्युत् प्राधिकरणको विद्युत् व्यापार विभागका प्रमुख प्रबल अधिकारीले भारतीय ऊर्जा व्यापार कम्पनी एनभीभीएन ( एनटीपीसी विद्युत् व्यापार निगम ) र प्राधिकरणबीच बिजुलीको अनलाइन कारोबार सम्बन्धी सम्झौताको तयारी पूरा भएको बताए । सम्झौता केही दिन भित्रै हुने उनले जानकारी दिए ।

सम्झौता भएपछि नेपालले आफूलाई चाहिएको बिजुलीको परिमाण र आवश्यक समय खुलाएर अघिल्लो दिन अनलाइनमा विवरण राखिदिने र त्यस अनुसारको बिजुली भोलिपल्ट प्राप्त हुने प्रणाली स्थापित गरिने अधिकारीले बताए ।

नेपालले सन् २००९ देखि विद्युत् एक्सचेन्जको अवधारणा लागू गराउन भारतसित आग्रह गर्दै आएको छ । भारतले केही महिना अघि सीमापार विद्युत् निर्यात सम्बन्धी निर्देशिका संशोधन गरेर ऊर्जा व्यापारको बाटो खोलिदिएको थियो । त्यस लगत्तै गत माघ दोस्रो साता पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकले यसरी खरिदबिक्री गर्ने निर्णय गरेको थियो ।

विद्युत् एक्सचेन्ज सम्बन्धी मस्यौदा एनभीभीएनले केही साता अघि विद्युत् प्राधिकरणलाई पठाएको थियो । अधिकारीका अनुसार भारतीय मस्यौदालाई प्राधिकरण बोर्डले स्वीकृत गरिसकेको छ । ‘अब छिट्टै सम्झौता हुने क्रममा छ,’ अधिकारीले भने, ‘यो सम्झौता भएपछि नेपालले बढी बिजुली दिने र आफूलाई अपुग भएमा लिन सक्नेछ ।’
अन्नपूर्णबाट

Logo