पेट्रोलियम पाइपलाइन ओछ्याउन अब सात किमी मात्रै बाँकी

पेट्रोलियम पाइपलाइन ओछ्याउन अब सात किमी मात्रै बाँकी


वीरगञ्ज

नेपाल तथा भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र निर्माण गर्न त्यस क्षेत्रका नौ किलोमिटर भित्र पर्ने रुख काट्ने तथा पाइप जोडने काम तीव्रगतिमा भइरहेको छ ।

मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराका अनुुसार नेपाल तर्फको ३६ दशमलव २ किलोमिटर भू–भाग मध्ये बाँकी रहेको नौ किलोमिटर क्षेत्रमा पर्ने निकुञ्जमा धमाधम काम भइरहेको छ । सो क्षेत्रमा दुई किलोमिटर पाइप गाडने काम सम्पन्न भइसकेको छ ।

तीव्र गतिमा बाँकी काम भइरहेकाले सो काम चाँडै सकिएर जमीनमुनि पाइप गाड्ने काम सम्पन्न भएपछि भारतबाट पेट्रोल ल्याउने काम शुरु हुने परियोजनाका इञ्जिनियर शरदकुमार पौडयालले बताउनुभयो । बढीमा तीन महीनाभित्र काम सम्पन्न भई भारत बिहारको राजधानी पटनाबाट पाइपलाइन मार्फत पेट्रोलियम पदार्थ आउने परियोजना कार्यालय सिमराले जनाएको छ ।

सो क्षेत्रमा ६ हजार ५६३ रुख काटने काम तीव्रगतिमा भइरहेको छ । गत माघ ३ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार निकुञ्जभित्रका रुख काट्ने काम शुरु भएको छ । सो रुख काटे बापत नेपाल सरकारले निकुञ्जलाई एक करोड ९५ लाख तिर्नु पर्नेछ ।

उता भारतको मोतिहारीदेखि रक्सौल नाका सम्म ३३ दशमलव ७ किलोमिटर भू–भागको काम सम्पन्न भइसकेको भारतीय आयल कर्पोरेशनले जनाएको छ । नेपालको लाइफलाइनको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म ७० किलोमिटर लम्बाइको सो पाइपलाइन निर्माणको लागि भारत सरकारले ३५० करोड भारतीय लगानी गरेको बताइएको छ ।

जमीनमुनि साढे दुई मिटर तल तथा पौने ११ इन्चको माईल स्टिल भन्ने कालो रङ्गको पाइप राखिएकोले खिया भने लाग्दैन । यो प्रोजेक्ट सञ्चालनमा आएपछि भारतको रक्सौल नाकामा देखिने जामको समस्या हटनुका साथै पेट्रोलियम पदार्थमा हुने चोरी तथा अनियमितता हटेर जाने विश्वास जानकारहरुले लिएका छन् ।
रासस

Logo