पाँचथरको मुवा झरना पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै

पाँचथरको मुवा झरना पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै


पाँचथर ।

पाँचथरको फालेलुङ गाउँपालिका–५ र ६ को सीमामा अवस्थित मुवा झरना पछिल्लो समयमा पर्यटकीय गन्तव्य बनेको छ ।

यसअघि गुमनाम रहेको यो झरनालाई स्थानीय दीपज्योति युवा क्लबले प्रचारमा ल्याएपछि पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको भीड लाग्न थालेको हो । निकै दुर्गम स्थानमा रहेको यो झरनामाथि निर्माण गरिएको झोलुङ्गे पुलबाट झरनाको दृश्यावलोकन गर्न निकै आनन्द आउँछ । त्यसैले मुवा झरनामा रमाइलो गर्न आउने पर्यटकको सङ्ख्यासमेत क्रमशः बढ्दै गएको छ ।

जिल्लामा जैविक विविधता तथा वातावरण संरक्षणका क्षेत्रमा सक्रिय दीपज्योति युवा क्लबले विभिन्न प्रचार सामग्रीमा मुवा झरनाको तस्वीर राखेर प्रचार गरेपछि आन्तरिक पर्यटक यहाँ पुग्न थालेका हुन् । सामाजिक सञ्जालमा मुवा झरना तथा यहाँ खिचिएका तस्वीर राख्ने क्रमसँगै झरनाले चर्चा पाएको झरना संरक्षण एवं सम्वर्धन समितिका अध्यक्ष रविन जबेगूले बताए ।

पाँचथरको फिदिमबाट फिदिम–फालोट सडक हुँदै फालेलुङ–६ ओगेम्बा पुगेपछि करिब १५ मिनेट कच्ची शाखा सडकको यात्रा र आधा घण्टा पैदल यात्रापछि मुवा झरना पुग्न सकिन्छ । दुई ठूला पाखाको बीचमा ठूला चट्टानको बीचबाट झरेको झरना निकै आकर्षक देखिन्छ । यहाँको मुवा खोला नै झरनाको रुपमा अग्लो पहराबाट झण्डै १०० मिटर तल झरेकाले निकै सुन्दर देखिएको हो । झरनामा बाह्रै महिना प्रशस्तै पानी हुने हुँदा यो झरना जिल्लाको महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयवासीको अपेक्षा छ ।

झरनाको मुनि रमाइलो गर्न तथा तस्वीर लिन प्रशस्त ठाउँ रहेको तथा झरनाको माथिबाट झोलुङ्गे हालिएकाले यहाँ पर्यटकलाई रमाइलो गर्न सहज भएको क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाको भनाइ छ । “झरनामा थप पूर्वाधार निर्माणका लागि सरकारी लगानी अत्यावश्यक रहेको छ”, उनले भने, “झरना हेर्न केही महिना अघिदेखि आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ । झरनाको आसपासमा पूर्वाधारको विकास गर्न सके नेपालकै अब्बल गन्तव्य बन्न सक्छ ।”

राई भासामा मुवाको अर्थ ‘निरन्तर बगिरहने आँशु’ भन्ने हुन्छ । आँशुजस्तै निरन्तर पानी झरिरहने भएकाले झरनाको नाम ‘मुवा’ राखिएको फालेलुङ–६ की वडाध्यक्ष सुजता वान्तवाको भनाइ छ । पछिल्लो समयमा झरना हेर्न दैनिक दर्जनौंको सङ्ख्यामा पर्यटक आउने गरेको स्थानीयवासीले जनाएका छन् । “पहिले यो ठाँउ सुनसान थियो”, फालेलुङ–६ का प्रदीप राईले भने, “झरना हेर्न अहिले मान्छेको भीड लाग्ने गरेको छ ।”

झरना चर्चामा आउन थालेपछि श्रीजङ्गा ग्रामीण विकास केन्द्रबाट झोलुङ्गे पुल निर्माण भएको थियो । पर्यटकको आवागमन बढ्न थालेपछि उनीहरुका लागि यस क्षेत्रमा दुई वटा सार्वजनिक शौचालय, दुई वटा विश्रामालय र खानेपानी धारा निर्माण गरिएको छ । हालसम्म यहाँ फालेलुङ गाउँपालिकाबाट लगानी भइरहेकामा आगामी दिन प्रदेश र सङ्घीय सरकारबाट पनि लगानी आवश्यक रहेको समितिका अध्यक्ष जबेगूले बताए । झरना झर्ने ठाउँमै रहेका केही ठूला चट्टान हटाउने, सहज सडक पहुँच पु¥याउने तथा भ्यू–टावर, विमिङ पुलजस्ता संरचना निर्माण गर्न सके पर्यटक भित्र्याउन झनै सहज हुने उनको भनाइ छ ।

गाउँपालिकाले वडा नं ५ बाट झरनासम्म पुग्ने पदमार्ग निर्माण थालेको छ । यसै वर्ष झरनासम्म मोटरबाटो पुर्याउने गाउँपालिकाले लक्ष्य लिएको छ । फालेलुङ–६ का वडाध्यक्ष सुजाता बान्तवाले स्थानीय तहको सक्रियताले मुवा झरना पर्यटकीय गन्तव्यको रुपमा विकास हुन लागेको बताइन् । “दीपज्योति युवा क्लबसँग सहकार्य गरी वडा र गाउँपालिकाले गरेको प्रचारले नै यो झरना पर्यटकीय गन्तव्य वन्न लागेको हो”, उनले भनिन् , “यहाँसम्म सडक ल्याउन १२ लाख लगानी गरिसकेका छौँ ।”

यस वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत फालेलुङ–६ तर्फबाट पदमार्ग निर्माण गर्ने योजना बनाइएको वडाध्यक्ष बान्तवाले बताइन् । बजेटको सीमितताले झरनाको प्रवर्धनमा उचित लगानी गर्न नसकिएको उनको भनाइ छ ।

जिल्लाका पर्यटकीय गन्तव्यको प्रचार र प्रवर्धनमा सक्रिय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश कमिटीका सदस्य हर्कबहादुर नेम्वाङले मुवा झरनाको प्रचार र पर्यटकीय पूर्वाधार विकास अति आवश्यक रहेको बताए । “फालेलुङ पर्यटकीय दृष्टिले निकै धनी छ । त्यसमा पनि गाउँपालिकाको मध्यभागमा रहेको यस झरनाले यहाँ थप पूर्वाधार आवश्यक छ भन्ने देखिएको छ”, उनले भने, “यसका लागि स्थानीय तहको प्रभावकारी समन्वय र सबै तहका सरकारको लगानी आवश्यक छ ।”

दैनिक आन्तरिक पर्यटक भित्रने क्रमले दुर्गममा रहे पनि मुवा झरना पर्यटकीय गन्तव्यको रुपमा विकास हुने सङ्केत मिलेको नेम्वाङको भनाइ छ । अहिले यहाँ दैनिक ५० देखि १०० जनासम्म आन्तरिक पर्यटक पुग्ने गरेका छन् । झरना आफैँमा मनमोहक रहेको र केही पूर्वाधार थप गर्न सके सुनमा सुगन्ध थपिएजस्तै हुने स्थानीयवासीको भनाइ छ ।

मुवा झरना नजिकै तीनछाँगे झरना लगायत अन्य झरना पनि भएकाले यो ठाँउ झरनामा रमाउने पर्यटकका लागि अब्बल गन्तव्य हो । देशको अन्य स्थानमा भएका झरनाभन्दा मुवा झरना निकै आकर्षक भएकाले सङ्घ, प्रदेश र स्थानीय सरकारले यसको प्रबर्धनका लागि चासो दिनु पर्ने झरना हेर्न आएका विजयहाङ आङ्देम्बेले बताए ।

Logo