शल्यक्रियापछि ५ जनाको आँखाको ज्योति गुम्यो

शल्यक्रियापछि ५ जनाको आँखाको ज्योति गुम्यो


सिरहा

क्रिश्चियन संस्थाले गरेको निःशुल्क शिविरमा शल्यक्रिया गराउँदा कम्तीमा ५ जनाको आँखाको ज्योति गुमेको छ । शल्यक्रियाका लागि कोरियाबाट स्वास्थ्यकर्मीको टिम ल्याइएको थियो । तिनले दिएका झोल दबाईमा पनि के लेखिएको छ, बुझिँदैन ।

फाल्गुन १३ देखि १५ सम्म राखिएको शिविरमा ७७ जनाको शल्यक्रिया भएको थियो । ती मध्ये अधिकांशमा महिना नबित्दै आँखामा गम्भीर समस्या देखिएको थियो । कर्जन्हा नगरपालिका ८ थल्हा र आसपासमा पुग्दा ५ जनाको ज्योति गुमेको पाइयो । अन्य गाउँबाट उपचार गराएकाहरूको अवस्था खुल्न सकेको छैन ।

ज्योति गुमाउनेमा थल्हाका कलम हुसैन, रामझरी पासमान, देवलाल राउत, गौतारीका गोलियादेवी पासमान र विन्देश्वरी पासवान छन् । उनीहरूले फाल्गुन १५ गते फुलकुमारी महतो मेमोरियल अस्पतालमा भएको शिविरमा मोतिबिन्दुको शल्यक्रिया गराएका थिए ।

फुलकुमारी मेमोरियल अस्पतालमा ‘रिचिङ द नेशन’ (आरटीएन) स्कुलले शिविर आयोजना गरेको थियो । त्यसमा अस्पतालको साझेदारी रहेको बताइए पनि उसले ठाउँमात्र दिएको दाबी गरेको छ । आरटीएन स्कुल क्रिश्चियन संस्थाले चलाएको हो। उसले दक्षिण कोरियाबाट ३० जनाभन्दा बढीको टोली शिविरका लागि ल्याएको थियो ।

त्यसमा विशेषज्ञ चिकित्सक भएको बताइए पनि प्रमाणित हुन सकेको छैन । शल्यक्रियापछि उनीहरुलाई दुई किसिमका झोल औषधी दिइएको थियो । त्यसलाई एक महिनासम्म प्रयोग गर्न भनिएको थियो । औषधीको नाम कोरियाका भाषामै छ । उनीहरुको के के जाँच भयो ? शल्यक्रियापछि कुन कुन औषधी दियो ? त्यो उल्लेख छैन । आफूहरुलाई नामदर्ताको पुर्जासमेत नदिएको पीडितले सुनाए ।
अन्नपूर्णबाट

Logo