चिया श्रमिकको आन्दोलन अझ कडा बन्दै

चिया श्रमिकको आन्दोलन अझ कडा बन्दै


इलाम

आन्दोलनरत पूर्वका चिया श्रमिक र उद्योगीबीच भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ । दुई पटकसम्मको वार्तामा श्रमिकको माग पूरा गर्न उद्योगी सहमत नभएपछि श्रमिक संगठनले आइतबार अझ ‘कडा’ आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

सरकारले तोकेको न्यूनतम ज्याला, सामाजिक सुरक्षा ऐन र श्रम ऐन कार्यान्वयन माग गर्दै चैत १७ यता श्रमिक आन्दोनलमा छन् । चिया प्रतिष्ठान बन्द गराएर दिनहुँ र्याली, जुलुस र कोणसभा गरिरहेका श्रमिकसँग शनिबार सूर्योदय नगरपालिकाको पहलमा वार्ता भएको थियो । तर वार्तामा उद्योगी श्रमिकका मागप्रति ‘टसमस’ नभएपछि आइतबार पुनः आन्दोलनका थप कार्यक्रम घोषणा गरिएको श्रमिक संगठनले बताएका छन् । ‘स्थानीय सरकारको पहलमा उद्योगी र किसानसँग भएको छलफलमा कुनै सहमति भएन,’ श्रमिक नेता रमेश खड्काले भने, ‘दुई पटकका वार्तामा कुनै सहमति हुन नसकेपछि आ–आफ्नो बाटो लाग्यौं ।’

वार्तामा उद्योगीले सरकारले तोकेको ज्याला कार्यान्वयन गर्नुपरे आफूहरूले सरकार सामु राखेका माग पनि पूरा हुनुपर्ने अडान राखेका थिए । ‘हामीले नयाँ माग गरेका होइनौं, सरकारले तोकेको ज्याला र सरकारले जारी गरेकै ऐन कार्यान्वयन गर्नुपर्छ भनेका हौं,’ नेपाल चिया बगान श्रमिक संघ अध्यक्ष दीपक तामाङले भने, ‘तर उद्योगी ऐन र सरकारी निर्णय पालना गर्न सहमत नहुँदा वार्ता निष्कर्षमा पुग्न सकेन ।’ उनले न्यूनतम ज्याला र दुवै ऐन कार्यान्वयन नहुँदासम्म आन्दोलन कुनै हालतमा स्थगित नहुने अडान दोहोर्याए ।

सरकारले गत साउन १ देखि नै लागू हुने गरी चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम ज्याला दैनिक ३८५ रूपैयाँ तोकेको छ । कारखानाभित्र काम गर्ने श्रमिकको ज्याला त्यसमा दैनिक ४२ रुपैयाँ थपिएको छ । तर सरकारी स्वामित्वकै चिया बगानका श्रमिक पनि दैनिक २६५ रुपैयाँमा काम गर्न बाध्य भएपछि उनीहरुआन्दोलनमा उत्रिएका हुन् ।
नागरिकबाट

Logo