सरकारका ज्यादति र भ्रष्ट्राचार विरुद्धको प्रदर्शनमा एक हुन कांग्रेसको आव्हान (भिडियाेसहित)

सरकारका ज्यादति र भ्रष्ट्राचार विरुद्धको प्रदर्शनमा एक हुन कांग्रेसको आव्हान (भिडियाेसहित)


काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गते हुने विरोध प्रदर्शनमा सहभागिता जनाउन आफ्ना कार्यकर्तालाई आव्हान गरेको छ ।

कांग्रेसको वर्तमान र पूर्वपदाधिकारीहरुको बिहीबार बसेको बैठकले २९ गते हुने प्रदर्शनको तयारीको बारेमा छलफल गर्दै सबै नेता कार्यकर्तालाई सडकमा उत्रन आव्हान गरेको हो । बैठकपछि पत्रकारहरुसँग कुरकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले ७७ वटै जिल्लामा हुने प्रदर्शनको तयारीको बारेमा छलफल भएको बताए ।

उनले भने, ‘२९ गतेको लागि हामीले ७७ वटै जिल्लामा जुन र्याली निकालेर अहिलेको सरकारको दमन नीतिलाई विरोध गर्ने बारेमा छलफल भएको हो । ७७ वटै जिल्लामा गर्ने हो । काठमाडौं, ललितपुर र भक्तपुरमा पनि गर्ने टुङ्गो लगायौं । सल्लाह त्यही भएको छ ।’

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोभिड–१९ रोकथाम नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता, स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्ट्राचार, वरिष्ठ नेता रामचन्द्र पौडेल माथि मंसिर १७ गते तनहुँमा भएको गिरफ्तारीको विरोधमा प्रदर्शन गर्न लागिएको बताए। उनले भने, ‘कोरोनाको महामारी चलिरहेको छ र सरकारको ध्यान कोरोनाको महामारी तर्फ गम्भिर छैन । नागरिकको जीवन अस्पतालमा बेड नपाएर, भेन्टिलेटर नपाएर, सामग्रीहरु नपाएर छटपटीरहेको बेलामा सरकार र सत्तारुढ पार्टी आफ्नो सत्ताको द्वन्द्वमा केन्द्रीत भएको छ । त्यसैले हामी २९ गते प्रदर्शन गर्दैछौं । प्रदर्शन गर्दै गर्दाखेरी आजको बैठकले विशेष रुपमा देशभरी रहनुभएका पार्टी सदस्य, शुभचिन्तक सबैलाई सहभागी बन्नका लागि अपिल गरेको छ ।’

प्रवक्ता शर्माले सरकार बने यता बढिरहेको भ्रष्टाचारको विरुद्धमा समेत प्रदर्शन केन्द्रीत हुने बताए । उनले भने, ‘यो सरकार बने पछि निरन्तर बढिरहेको भ्रष्ट्राचार, स्वास्थ्य सामग्रीको खरिदसम्म भएको भ्रष्ट्राचारदेखि लिएर भ्रष्ट्राचारको अनेकन प्रकरणहरुको विरुद्ध सडकमा २९ गते उत्रिनलाई बैठकले अपिल गरेको छ ।’

प्रवक्ता शर्माले सरकारले सर्वसत्तावादी चरित्र र अधिनायकवादी आकांक्षा प्रस्तत गरेको समेत बताए । यस्तै बैठकले मोरङ जिल्लामा शिक्षक हत्या भएको घटनामा संलग्नलाई कडा कारबाही गर्न समेत माग गरेको प्रवक्ता शर्माले बताए।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारको अधिनायकवादी प्रवृति, भ्रष्ट्राचार र कोभिडको कुव्यवस्थापनबाट सिर्जित अप्ठेरो अवस्थाको विरुद्धमा प्रदर्शन भएको बताए । उनले भने, ‘हाम्रो २९ गते देशैभरी ७७ वटै जिल्लामा विरोध कार्यक्रम हुन्छ । त्यो विरोध कार्यक्रम, सरकारको अधिनायकवादी प्रवृति, भ्रष्ट्राचार र कोभिडको कुव्यवस्थापनबाट जुन अप्ठ्यारो स्थिति सिर्जना भएको छ त्यसलाई केन्द्रीत गरेर सरकारको विरुद्ध विरोध कार्यक्रम केन्द्रीत हुन्छ । यो प्रारम्भ मात्रै हो ।’

२९ गतेको कार्यक्रम पछि पनि आन्दोलनलाई निरन्तरता दिने भन्ने कुरामा समेत छलफल भएको महतले बताए ।

Logo