बारा-पर्सा हावाहुरीः मृतकका परिवारलाई ५ लाख दिने प्रचण्डको घोषणा

बारा-पर्सा हावाहुरीः मृतकका परिवारलाई ५ लाख दिने प्रचण्डको घोषणा


बारा । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हावाहुरीका कारण ज्यान गुमाएका परिवारलाई पाँच-पाँच लाख दिने घोषणा गरेका छन्। मंगलबार बाराको फेटा गाउँपालिका ६ पुरैनियाँ पुगेका प्रचण्डले पीडितलाई सम्बोधन गर्दै नेकपाको तर्फबाट पाँच-पाँच लाख दिने घोषणा गरेका हुन्।

राहत वितरण गर्न पुगेका प्रचण्डले पार्टीका तर्फबाट उक्त रकम दिने घोषणा गरेका हुन् । साथै सम्पूर्ण घाइतेको निःशुल्क उपचार गर्ने विषयमा प्रधानमन्त्रीसँग कुरा भईरहेको जानकारी दिए । प्रचण्डले परिवारका चारजना सदस्य गुमाएका स्थानीय इजाहार मियाँका एक छोरालाई निःशुल्क पढाइदिने समेत घोषणा गरेका छन्। बालकलाई नेकपाको मुस्लिम भातृ संगठनले निःशुल्क शिक्षाको व्यवस्था गर्ने प्रचण्डको भनाई छ ।

उद्योगमन्त्री मातृका यादवसहित वीरगन्ज हुँदै फेटा गाउँपालिका पुगेका प्रचण्डले राहत र उद्धारमा जुट्न पार्टीका सबै तहका प्रतिनिधिलाई निर्देशन समेत दिए । बारा र पर्सामा आइतबार रातिको हावाहुरीमा परी २८ जनाको मृत्यु भइसकेको छ।

प्रदेश २ को सरकारले मृतकका परिवारलाई तीन लाख दिने घोषणा गरिसकेको छ । त्यस्तै राष्ट्रिय जनता पार्टीले पाँच लाख, नेपाली कांग्रेसले २५ लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका सांसदहरुले २ दिनको तलब, नेकपा सांसदहरुले १ दिनको तलब पीडित परिवारलाई दिने घोषणा गरिसकेका छन् ।

Logo