जुगल हिमालमा पहिलो पटक आरोहण खुल्ला

जुगल हिमालमा पहिलो पटक आरोहण खुल्ला


सिन्धुपाल्चोक

राजधानीबाट सबैभन्दा नजिक देखिने जुगल हिमालको पहिलो आरोहण तयारी पूरा भएको आयोजकले जनाएका छन् ।

प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र हिमाल रहेको जुगल गाउँपालिकाको संयुक्त आयोजना तथा सिन्धु पर्यटन परिषद्को समन्वयमा जुगल आरोहण गर्न लागिएको हो । सिन्धु चेली माया गुरुङको नेतृत्वमा आरोहण दलका सदस्य शुक्रबार जुगल हिमशृंखलाको आधार शिविरतर्फ प्रस्थान गर्दैछन् ।

‘प्रथम जुगल आरोहणको तयारी पूरा भएको छ,’ आरोहण दलका सदस्य रहेका परिषद्का महासचिव मिलन लामाले भने । सगरमाथाको सफल आरोहण गरिसकेकी गुरुङले अगुवाई गर्ने आरोहण दलमा लामासहित सर्मिला थापा, माधव सापकोटा र सुवास कर्माचार्य छन् । गुरुङ प्रथम महिला समावेशी सगरमाथा आरोहण दलकी सदस्यसमेत हुन् ।

जुगल हिमशृंखलाका आरोहण अनुमति प्राप्त ११ पिक (चुचुरा) मध्ये ६ हजार एक सय ५१ मिटर उचाइको ग्याल्चेन पिकको आरोहण गर्न लागिएको परिषद महासचिव तथा आरोहण दल सदस्य लामाले जानकारी दिए । ‘आरोहण दलका सदस्यलाई पथप्रदर्शक र सहयोगीसमेत अरु २५ जनाले सघाउने छन्,’ उनले भने ।

आरोहण गर्न लागिएको ग्याल्चेन पिक जुगल गाउँपालिका–३, गुम्बामा पर्छ । आरोहण दलका सदस्यलाई तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शुक्रबार बिहान राजधानीबाट बिदाइ गर्दैछन् । उनीहरुलाई प्रदेश सांसद सरेश नेपालले अरनिको राजमार्गको बलेफी बजार र नेकपाका नेता अग्नि सापकोटाले गाउँपालिका मुकाम ढाँडे बजारबाट बिदाई गर्ने कार्यक्रम आयोजकले राखेका छन् ।
नागरिकबाट

Logo