ब्रुमर संचालनमा आएपछि एकैरातमा १८ टन धुलो सङ्कलन

ब्रुमर संचालनमा आएपछि एकैरातमा १८ टन धुलो सङ्कलन


काठमाडौं

काठमाडौँका सडकबाट ब्रुमर (यान्त्रिक कुचो) ले एकै रातमा १८ टन धुलो सङ्कलन गरेको छ ।

काठमाडौँ महानगरपालिकाले गत मङ्गलबारदेखि सञ्चालनमा ल्याएको पाँच वटा ब्रुमरले पहिलो रात पानीको कारण सडक सफा गर्न नपाए पनि गएराति सडक सफा गरेर उक्त परिमाणमा धुलो सङ्कलन गरेको हो । फागुन २८ गते इटलीबाट पाँच ब्रुमर काठमाडौँ ल्याइएको हो ।

कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार ब्रुमर सञ्चालनको लागि महानगरले बनाएको पाँच वटा सडक क्षेत्र अनुसार नै सडक सफा गर्दा १८ टन फोहोर सङ्कलन भएको हो । कामपाले बनाएको सो सडक क्षेत्र अनुसार हरेक बेलुका ८ देखि बिहान ४ बजेसम्म दैनिक आठ घण्टा काम गर्ने गरी महानगरले मङ्गलबारबाट ब्रुमर सञ्चालन गरेको भएता पनि झरीको कारण बुधबारबाट धुलो सङ्कलन गरिएको हो ।

काठमाडौँका सडकमा माटो धेरै भएकाले यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा यातायात व्यवस्था विभागसँग छलफल भैरहेको समेत प्रवक्ताले जानकारी गराउनुभयो । कानूनी रुपमा आठ मिटर भन्दा कम चौडाइका सडक मात्र कामपाकोे जिम्मेवारीमा पर्छ । ती ब्रुमर १० करोड ८० लाखमा ल्याइएको हो ।

यसअघि विशिष्ट व्यक्तिको आवतजावत रहेका बेला सडक विभाग र महानगरपालिकाले आपसमा समन्वय गर्दै विभागसँग रहेका दुई ब्रुमरले सडक सफा गरिँदै आएको थियो । कामपासँग यसअघि रहेको एक ब्रुमर पनि काम गर्न नमिल्ने अवस्थामा रहेको जनाइएको छ । गत असारमा गरिएको बोलपत्रको आधारमा उक्त यन्त्र ल्याइएको हो ।

पाँच ब्रुमर मध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा छ टन क्षमताको छ । ती ब्रुमरमा दिनमा १० किलोमिटरसम्मको धुलो सङ्कलन गर्न सक्ने क्षमताको रहेको छ । यूरो मापदण्डका भनिएका उक्त ब्रुमरमा अगाडि, बीच र पछाडि भागको दायाँबायाँ गरी प्लाष्टिकका चार ब्रससहित धुलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएको छ । पछिल्लो समय निर्माण कार्य तीव्र रुपमा भई धुलो बढिरहेका अवस्थामा ती ब्रुमरले ठूलो सहयोग पुग्ने विश्वास कामपाले लिएको छ ।
रासस

Logo