लगानी सम्मेलनको तयारी पूरा, ६ सय बढी लगानीकर्ताको सहभागिता

लगानी सम्मेलनको तयारी पूरा, ६ सय बढी लगानीकर्ताको सहभागिता


काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले शुक्रबारबाट हुन लागेको तेस्रो लगानी सम्मेलनको तयारी पूरा भएको जनाएका छन् । अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी अर्थमन्त्री खतिवडाले लगानी सम्मेलन तयारी पूरा भएको जानकारी दिएका हुन् । सम्मेलनमा सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजना छलफल हुने बताए ।

सम्मेलनमा ६ सयभन्दा बढी लगानीकर्ताहरुको सहभागिता हुने अर्थमन्त्री खतिवडाको भनाई छ । लगानी सम्मेलनलाई उत्सवको रुपमा मनाउन चाहेको भन्दै यसले नेपालको सम्भावित योजना बनाउने बताए ।

यसअघि भएको लगानी सम्मेलनका उपलब्धीहरुलाई अगाडि बढाउँदै यो सम्मेलन गरिएको अर्थमन्त्रीको भनाई छ । यसअघि पूर्व तयारी भएका योजनाहरुको एमओयु समेत हुने जानकारी दिए ।

‘स्वदेश लगानीकर्ता र विदेशी लगानीकर्ताबीच नेटवर्किङ गर्ने काम पनि लगानी सम्मेलनबाट हुनेछ,’ अर्थमन्त्री खतिवडाले भने, ‘सरकारको भूमिकाका लगानीकर्ताका विषयलाई सहज बनाइदिने हुनेछ।’

स्वदेशी अथवा विदेशी लगानीकर्तालाई ऋण लगायतका विषयमा परामर्श पनि हुने उनको भनाई छ । सम्मेलनमा कूटनीतिज्ञहरु पनि सहभागी हुने जानकारी दिँदै अर्थमन्त्री खतिवडाले लगानी सम्बन्धी कतिपय कानूनहरु बनेको बताए।

Logo