५ जना विरुद्ध मुद्दा दायर : ३२ किलो सुन प्रकरण

५ जना विरुद्ध मुद्दा दायर : ३२ किलो सुन प्रकरण


महेन्द्रनगर

गत फागुन २ गते कञ्चनपुरबाट बरामद गरिएको ३२ किलो सुन प्रकरणमा राजश्व अनुसन्धान विभागले ५ जना विरुद्ध मुद्दा दायर गरेको छ । ती मध्ये २ जना हिरासतमा छन् । उनीहरूलाई आइतबार नै अदालतमा उपस्थित गराइएको छ ।

सोमबार हिरासतमा रहेका दुवै जनाको बयान लिने काम भएको अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए । राजश्व अनुसन्धान विभागले अनुसन्धानपछि आइतबार जिल्ला अदालतमा राजश्व चुहावट कसुर अन्तर्गत मुद्दा दायर गरेपछि सोमबार अभियुक्तद्वयको बयान लिइएको हो ।

‘मुद्दा दायर भएर अदालतमा २ जनाको बयान लिइएको छ’, उनले भने, ‘थुनछेक बहस भएपछि आदेश आउन सक्छ ।’ उनका अनुसार जिल्ला अदालतका न्यायाधीश प्रकाश कुमार अधिकारीको इजलासमा उक्त मुद्दा परेको छ । सोमबार न्यायाधीशकै रोहबरमा अभियुक्तहरूको बयान गराइएको हो । बरामद गरिएको सुन भने राजश्व अनुसन्धान विभागले नेपाल राष्ट्र बैंकमा बुझाइसकेको छ ।

प्रहरीले २३ किलो ६ सय ग्राम सुन सहित २ जनालाई गत फागुन २ गते कञ्चनपुरको पुनर्वासाबाट पक्राउ गरेको थियो। लुकाएर राखिएको सुन प्रहरीले फागुन २ र ३ गते पुनर्वास र शुक्लाफाँटा नगरपालिकाबाट बरामद गरेको थियो। पुनर्वासबाट १८ किलो र शुक्लाफाँटाबाट ५ किलो ६ सय ग्राम सुन बरामद भएको थियो। बरामद गरिएको सुन र पक्राउ परेका दुवैलाई प्रहरीले राजश्व अनुसन्धान विभागको जिम्मा लगाएको थियो।
अन्नपूर्णबाट

Logo