दाजु बहिनी नै दृष्टिविहीन, डोको बुनेर जिविका

दाजु बहिनी नै दृष्टिविहीन, डोको बुनेर जिविका


गलेश्वरको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका जन्मजात दृष्टिविहीन खिमप्रसाद छन्त्यालको जीवन अत्यन्त कष्टकर रुपमा बितिरहेको छ । जन्मदै आँखाको दृष्टि गुमाएका छन्त्यालले जन्मेपछि सानै उमेरमा बुबाआमा पनि गुमाए  ।

बाबुआमाको मृत्युपछि रोजगारीको खोजीमा भारत पसेका दाजु पनि उतै बेपत्ता भए । एउटी बहिनी पनि दृष्टिविहीन । दिदीले गाउँकै युवकसँग विवाह गरेपछि घरमा दुई दृष्टिविहीन दाजु बहिनी मात्र रहे । समयसँगै निकै परिवर्तन भए । कति शिशिर आए गए । तर, खिमप्रसादको जीवनमा कहिल्यै वसन्त आएन । खुशीको स्वााद कस्तो हुन्छ छन्त्यालले कहिल्यै अनुभव गर्न पाएन ।

करीब ५५ वर्षीय खिमप्रसाद छन्त्यालले दुई दशक अघिदेखि जीवन गुजार्नका लागि बाँसको चोयाँलाई रोजे र डोको बुन्न थाले । चोयालाई बटार्दै र मिलाउँदै डोको बुन्ने गरेका  उनको जीवन पनि चोयासँगै चिरिँदै र भाटासँग मिसिदै रित्तो डोको जस्तै बनेको छ ।

जिल्लाको विकट क्षेत्रमा पर्ने ठाडाखानीमा दृष्टिविहीन भएकै कारण बाँच्ने आधार केही नभएपछि उनले जीवनलाई सधैँका लागि विश्राम दिने प्रयास पनि नगरेको होइन । गाउँमै विवाह गरेकी दिदी, आफन्तको सहयोगमा बिहानबेलुकी छाक टार्ने गरेका खिमप्रसादले सधैँ मागेर गुजारा चलाउनुपर्ने अवस्थालाई अन्त्य गर्न आफ्नै हातको सीपलाई खर्चिएर डोको बुनेर गुजारा चलाउँदै आएका छन् ।

उनले हातको साहराले डोको बुन्ने गरेका छन् । आफन्तको सहयोगमा आवश्यक साम्रगी जुटाएपछि बुनेको डोकालाई स्थानीयवासीले समेत खरिद गर्ने गरेका छन् । “घरमा एक्लै हुनुहुन्छ, गाउँमा धेरै दुःख पाउनेमा उहाँको नाम अगाडि आउँछ”, वडा सदस्य टेकजीत छन्त्यालले भने ।

सदस्य छन्त्यालका अनुसार खिमप्रसादले घरमै सहयोग गर्ने सदस्य नहुँदा विवाह गरेर गएकी दिदी, आफन्त र गाउँलेको सहयोगमा दिन बिताउनुपरेको छ । “गाउँमा अभावको अर्को नाम नै खिमप्रसाद हो”, उनले भने, “कतैबाट आर्थिक सहयोग भए उनलाई जीवन चलाउन निकै सहज हुने थियो ।”

वडाबाट समान्य सहयोग गर्न सकिने भए पनि गाउँमा आर्थिक अवस्था कमजोर भएका धेरै भएकाले आगामी बजेटमा प्रस्ताव लैजाने सदस्य छन्त्यालले बताए । बिहान बेलुकी हातमुख जोड्न, लत्ताकपडासहित औषधि उपचारका लागि सहयोगको आवश्यकता रहेको उनको भनाइ छ ।

सम्पत्तीको नाममा सानो घर, केही जग्गा जमीन रहेपनि दृष्टिविहीन भएकै कारण प्रयोग गर्न तथा ज्याला मजदूरी गर्न नसक्ने भएकाले डोको बुन्न थालेको खिमप्रसादले बताए । “दुईहातले छामछुम गरेरै भए पनि सकेसम्म डोको बुन्छु, धेरै पीडा हुँदा समेत आँशु आउँदैन्, भएको आँशु बगेर गइसक्यो”, दृष्टिविहीन खिमप्रसादले भने ।

बाँच्ने आधार नै डोको बुन्ने पेशा भएकोले नमरुञ्जेलसम्म हातले डोको बुन्ने उनको भनाइ छ । डोकोसहित आवश्यक साम्रगी बनाउन बाँसको चोया काट्ने क्रममा धेरैपटक हसिँयाले हातमा चोट लागे पनि त्यसको वास्ता नगरी डोको बुनिरहेको उनले बताए  । उनले बुनेका डोका गाउँमा नै खपत हुने गरेका छन् । दृष्टिविहीन भएकै कारण न्यूनतम आवश्यकताबाट समेत वञ्चित भएकालाई स्थानीय जनप्रतिनिधि तथा निकायबाट समेत सहयोग हुने गरेको छैन् । रासस

Logo