अब किसानले धान बेच्न पनि कुपन लिनु पर्ने

अब किसानले धान बेच्न पनि कुपन लिनु पर्ने


नेपालगञ्ज।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय नेपालगञ्जले कुपन प्रणालीबाट धान खरिद कार्य शुरु गरेको छ । कम्पनीले किसानलाई सहज तुल्याउन कुपन वितरण गरी सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद गर्न शुरु गरेको हो । तर कुपन लिनका लागि लालपूर्जा देखाउनु पर्ने व्यवस्था गरिएपछि भने अधियाँ बटिया गरि धान उत्पादन गरेका किसानहरु चिन्तित देखिन्छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय नेपालगञ्जले कुपन प्रणालीबाट धान खरिद गर्ने व्यवस्था गरेपछि किसानहरुले सजिलै धान विक्री गर्न पाएका छन् । कुपन अनुसार आफ्नो पालो परेको दिन प्रति कुपन ५० क्वीन्टलसम्म धान विक्री गर्न पाउने व्यवस्था गरिएको छ । सोही व्यवस्थाका कारण किसानहरु दैनिक रुपमा आफ्नो कुपन अनुसार धान लिएर खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालय सम्म पुग्ने गर्छन् ।

कम्पनीका मुख्य शाखा प्रमुख निर्मल थापाले किसानलाई वितरण गरिएको कुपनमा कृषकको विवरण सहित धानको अनुमानित परिमाण र धान लिएर आउने दिन तोकिएकोले किसानलाई सहज भएको बताए । कुपन प्रणाली लागू गर्दा धान लिएर विक्रीका लागि लाइन लाग्नु पर्ने स्थितिको समेत अन्त्य भएको छ । कुपन प्रणालीबाट धान खरिद भएपछि सहज भएको कृषकहरुले बताएका छन् । कुपन प्रणाली लागू गरेपछि कुपन वितरणमा भने भिड लाग्ने गरेको छ ।

कुपन लिनका लागि किसानले लालपूर्जा अनिवार्य देखाउनु पर्ने व्यवस्था गरिएको छ । यसबाट अधियाँ बटियामा खेती गर्ने किसानले कुपन पाउन सकेका छैनन् । त्यसैले विचौलियाहरुले चलखेल गरिरहेको गुनासो पनि किसानहरुको छ । स्थानीय किसान सिराज अहमदले ५० क्विन्टल धान विक्री गर्न २५ कठ्ठा जग्गाको लालपूर्जा देखाउनु पर्ने भएकाले समस्या भएको बताए।

कम्पनीको मुख्य शाखा कार्यालय नेपालगन्जले यस वर्ष पहिलो चरणमा ४० हजार क्वीन्टल मोटा र मध्यम धान खरिद गर्ने लक्ष्य राखेको छ । सरकारले मोटा धान प्रति क्वीन्टल २ हजार ७ सय ३५ रुपैयाँ र मध्यम धानको २ हजार ८ सय ८५ रुपैयाँ समर्थन मूल्य तोकेको छ ।

Logo