छोरीको जीवन गर्भमा मात्रै !

छोरीको जीवन गर्भमा मात्रै !


काठमाडौँ

छोरा मोहका कारण महिलाले छोरीको भू्रणहत्या गर्ने क्रम बढेको छ। लिंग पहिचान गर्न महिला स्वास्थ्य संस्थामा गएर अल्ट्रासाउन्ड गर्छन् र छोरी भएमा हत्या गरिदिन्छन्। सीमावर्ती क्षेत्रका महिला भने भारतीय सहरमा पुगेर लिंग परीक्षण गराउँछन् ।

हालै गरिएको एक अध्ययनमा सहभागी महिलामध्ये १७ प्रतिशतलाई अल्ट्रासाउन्ड सेवा प्रदायकले भ्रूणको लिंगबारे बताएका थिए। ‘गर्भमा छोरी रहेको थाहा पाएपछि भ्रूणहत्या गर्ने गरेको पाइयो’, अध्ययनमा संलग्न वातावरण स्वास्थ्य र जनसंख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) का निर्देशक आनन्द तामाङले भने । भ्रूणको लिंग पहिचान गर्नु गैरकानुनी हो।

नेपालमा वार्षिक तीन लाख २३ हजार ९४ जनाले गर्भपतन गराउँछन्। तीमध्ये ४२ प्रतिशतले मात्र सरकारी मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट गर्भपतन गराउँछन् । ५८ प्रतिशत गर्भपतन अवैध हुने गरेको छ।

स्त्री तथा प्रसूति विशेषज्ञ डा. हीरा तुलाधर असुरक्षित तरिकाले गर्भपतन गराउँदा कैयन् महिलाले ज्यान गुमाउने गरेको बताउँछिन्। ‘असुरक्षित गर्भपतन गर्दा कतिपयको स्वास्थ्य अवस्था गम्भीर हुने र कतिको ज्यानसमेत जाने गरेको छ’, डा. तुलाधरले भनिन्।

छोरा जन्माउन महिलाले पूजाआजा र भाकल गर्ने, जडिबुटी बाँध्ने लगायतका उपाय अपनाउने गरेको अध्ययनमा उल्लेख छ। अध्ययनमा सहभागी महिलामध्ये ३० जना अर्थात् झन्डै नौ प्रतिशतले कुनै निश्चित लिंगको बच्चा जन्माउन भाकल (देवताको नाममा जनावरको बलि दिने) गरेको पाइएको छ । ती मध्ये २५ जनाले छोरा जन्मियोस् भनेर भाकल गरेका थिए ।

छोरा पाउन पाँचजना महिलाले विशेष पूजा गरेका थिए र तीन जनाले धार्मिक गुरुकहाँ गएर आशीर्वाद लिएको अध्ययनमा उल्लेख छ ।

अन्नपूर्णबाट

Logo