विद्यार्थीको पक्षमा अदालतको आदेश : गण्डकी मेडिकल कलेज प्रकरण

विद्यार्थीको पक्षमा अदालतको आदेश : गण्डकी मेडिकल कलेज प्रकरण


काठमाडौँ

विद्यार्थीबाट फिरौतीको शैलीमा रकम संकलन गर्ने गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमाप्रसाद अर्याललाई पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको छ ।

जिल्ला अदालत कास्कीले जारी गरेको पक्राउ पुर्जीविरुद्ध अर्यालले निषेधाज्ञा माग्दै उच्च अदालतमा रिट दायर गरेका थिए । वादी र प्रतिवादीका तर्फबाट अधिवक्ताहरूले बुधबार र बिहीबार दिनभर बहस गरेपछि मुख्य न्यायाधीश कुमार चुँडाल र न्यायाधीश रामचन्द्र यादवको संयुक्त इजलासले अर्यालको माग अस्वीकार गरेको हो ।

‘२१ फागुनमा विद्यार्थीका तर्फबाट अपराधको किटानी जाहेरी गरेको देखिएको, जाहेर गरेका प्रतिवादीमध्ये जिल्ला अदालत कास्कीको अनुमतिले पक्राउ पुर्जी जारी भई सन्तोष खनाल र कर्मचारी लक्ष्मण शर्मा पक्राउ परिसकेको र जिल्ला अदालतबाटै निवेदकउपर नै पक्राउ पुर्जी जारी गर्न अनुमति दिएकाले निवेदकहरूको माग बमोजिम अन्तरिम आदेश जारी गर्न मिलेन, कानुन बमोजिम गर्नू,’ उच्च अदालतको आदेश छ ।

कलेज सञ्चालकका पक्षमा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठ र अधिवक्ता पूर्ण राजवंशीले बहस गरेका थिए । त्यस्तै, विपक्षीको तर्फबाट उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता नरेन्द्रबहादुर चन्द, उपन्यायाधिवक्ता खेमराज पाठक, वरिष्ठ अधिवक्ता तिलक पराजुली तथा अधिवक्ताहरू भगवती पहारी र ओमप्रकाश अर्यालले बहस गरेका थिए ।
नयाँ पत्रिकाबाट

Logo