राष्ट्रसंघीय मानवअधिकार परिषदमा पुग्यो ग्रेटर नेपालको मुद्दा

राष्ट्रसंघीय मानवअधिकार परिषदमा पुग्यो ग्रेटर नेपालको मुद्दा


काठमाडौं । सुगौली सन्धीमार्फत भारतले नेपालबाट लिएको भूमि फिर्ता गर्नुपर्ने माग जेनेभास्थित राष्ट्रसंघीय मानवअधिकार परिषदमा पुगेको छ । ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले जेनेभास्थित राष्ट्रसंघीय मानवअधिकार परिषदमा पुगेर ग्रेटर नेपालको मुद्दा उठाएका हुन् । मोर्चाका अध्यक्ष नेपालले परिषदको ४० औं सत्रमा उक्त माग उठाएका हुन् ।

नेपालले आफ्नो मन्तव्यमा भारतले सन् १९४७ देखियता मानवअधिकार, मानवता र स्वतन्त्रताको उल्लंघन गरिरहेको बताए । साथै उपनिवेश अन्त्य गर्ने राष्ट्रसंघको घोषणालाई पनि भारतले लत्याईरुहेको आरोप लगाए ।

गैरसरकारी प्रतिनिधिका रुपमा बैठकमा भाग लिएका नेपालले पहिलो पटक नेपालको मुद्दा उठान गरेका हुन् । उनले भने, ‘नेपाल भारत शान्ति तथा मैत्री सन्धीको दफा १ र ८ ले सुगौली सन्धीलाई नै रद्द गरिदिएको छ । त्यसैले भारतले आफ्नो उपनिवेशका रुपमा रहेको नेपालको ६० हजार वर्ग किलोमिटर भूमि फिर्ता गर्नुपर्छ ।’

उनले सीमा क्षेत्रमा पिल्लरहरु जथाभावी उखेलेर भारतले लगातार नेपालमाथि सीमा अतिक्रमण गरिरहेको पनि आरोप लगाए । ‘आजको मितिसम्म भारतले नेपालको १३ सय वर्ग किलोमिटरभन्दा बढी भूमि अतिक्रमण गरेको छ ।

ठूलो संख्यामा भारतीय सैनिकले १९६२ देखि नेपालको कालापानीमा ४ सय वर्ग किलोमिटर जमिन कब्जा गरेर बसिरहेका छन् । आफ्नो भूमिमा विदेशी सेनाको उपस्थिति कुनै पनि देशको सार्वभौमिकताका लागि ठट्टा हो । म राष्ट्रसंघीय मानवअधिकार परिषदलाई नेपालीको चासो गम्भिर रुपमा लिइदिन अनुरोध गर्छु,’ नेपालले भने ।

आफूले बोलेका कुरा संयुक्त राष्ट्रसंघको वार्षिक र आवधिक प्रतिवेदनमा लिपिबद्ध हुने नेपालले उनको भनाई छ । लामो प्रयासपछि उक्त मञ्चमा पुग्न सफल भएको भन्दै यो एउटा ऐतिहासिक क्षण भएको उनको भनाई छ ।

वैठकमा करिब १ सय ४० वटा गैरसरकारी संस्थाका प्रतिनिधिले आ आफ्नो देशको समस्या सुनाएका थिए । जसमा नेपालका तर्फबाट ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले राखेका हुन् । यस्तै बिहीबार जेनेभामा विरोध प्रदर्शनको कार्यक्रम राखिएको छ ।

Logo