७ सय विद्यार्थीले एमबिबिएस पढिरहेको मेडिकल कलेज ४२ दिनदेखि ठप्प

७ सय विद्यार्थीले एमबिबिएस पढिरहेको मेडिकल कलेज ४२ दिनदेखि ठप्प


काठमाडौं

शुल्कका नाममा गैरकानुनी रकम संकलन गरिएको भन्दै एमबिबिएसका विद्यार्थी आन्दोलनमा उत्रिएपछि पोखराको गण्डकी मेडिकल कलेज ४२ दिनदेखि बन्द छ । १६ माघदेखि सुरु आन्दोलन अदालती मुद्दा बनेर जिल्लादेखि उच्च अदालतसम्म पुगेको छ । तर डाक्टर बन्ने सपना बोकेका ७०० विद्यार्थीको भविष्यमाथि अन्योल कायमै छ ।

सन् २०१५, २०१७, २०१८ ब्याचका एमबिबिएस विद्यार्थी आन्दोलनमा छन्  । पाँचवर्षे कोर्समा कलेजले शीर्षक र बिलविना अतिरिक्त शुल्क भन्दै ८ देखि १५ लाखसम्म बढी असुलेको उनीहरूको गुनासो छ ।

वार्षिक तोकिए भन्दा डेढदेखि तीन लाखसम्म बढी तिर्नुपरेको उनीहरू बताउँछन् । आफूहरूले तिरेको सम्पूर्ण रकमको बिल तत्काल उपलब्ध गराउनुपर्ने, अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने, सरकारले तोके अनुसार शुल्क लिनुपर्ने र शुल्क लिएको विषयलाई लिएर परीक्षामा सामेल हुन तथा परीक्षाफल हेर्न रोक लगाउन नपाउने चार सूत्रीय माग उनीहरूको छ । २०१६ ब्याचका विद्यार्थीले आन्दोलनलाई सहयोग गरेका छन् ।

कलेज प्रशासन आफ्नो कमजोरी स्विकार्न तयार छैन । त्यसैले कलेज मात्रै होइन, अस्पतालका आकस्मिकबाहेक सबै सेवा बन्द छन् । प्रशासनले १२ फागुनमा हस्तक्षेप गरेर अस्पताल खुलाएको थियो । तर दुई दिन पनि टिकेन । दैनिक एक हजार बिरामीले सेवा लिने गण्डकी मेडिकल कलेज सुनसान छ । कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) चक्रबहादुर बुढा उच्च अदालतको आदेशको प्रतीक्षामा रहेको बताउँछन् ।
नयाँ पत्रिकाबाट

Logo