सीएमसीले साँढे एक अर्ब भुक्तानी तिर्न बाँकी : मेलम्चीका मजदुरको बिचल्ली

सीएमसीले साँढे एक अर्ब भुक्तानी तिर्न बाँकी : मेलम्चीका मजदुरको बिचल्ली


सिन्धुपाल्चोक

मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग निर्माणमा संलग्न इटालियन ठेकेदार कम्पनी सीएमसी रेभेनाले उपठेकेदार, आपूर्तिकर्ता र मजदुरलाई झण्डै साँढे एक अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी रहेको पाइएको छ ।

कम्पनी टाँट पल्टेको कारण देखाउँदै सीएमसी गत पुस २ गते साइट छोडेर भागेको थियो । नयाँ वर्ष र क्रिसमस मनाएर काममा फर्कंने सर्तमा इटाली गएको कम्पनीले आउने छाँट नदेखाएपछि पीडितहरुले मंगलबार अलपत्र आयोजनास्थलमा पत्रकार सम्मेलन गर्दै आफूहरुले पाउनुपर्ने रकमको हिसाबकिताब सार्वजनिक गरेका हुन् । सीएमसीले सिटामोलदेखि मोबाइल रिचार्ज कार्डसम्मको रकम भुक्तानी नदिएको भेटिएको छ ।

‘सीएमसीले मेलम्ची आयोजनालाई त अन्धकारमा धकेलेर गयो नै,’ उत्सव निर्माण सेवाका प्रोपाइटर उत्तमकुमार श्रेष्ठले भने, ‘आपूर्तिकर्ता र मजदुरसमेतलाई बिचल्ली बनायो ।’ सीएमसीलाई गिटी, बालुवा र ढुवानी सेवा आपूर्ति गर्दै आएका उनले चार करोड १० लाख रुपैयाँ भूक्तानी पाउन बाँकी रहेको बताए । उनका अनुसार लामो समयदेखि भूक्तानी नपाउँदा उपठेकेदार, आपूर्तिकर्ता, सुरुङ निर्माणमा प्रत्यक्ष जोडिएका मजदुर, फर्निचर उद्योगी र रिचार्जकार्ड बेच्ने सामान्य पसलेसम्म मारमा परेका छन् ।
नागरिकबाट

Logo